काठमाडौं । देशका अधिकांश भूभागमा मौसम बदली भई निरन्तर वर्षा भइरहेका बेला बाढी र पहिरोको जोखिमसमेत बढेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण विभिन्न स्थानमा वर्षा भइरहेको र यसले खोलानालामा जलसतह बढ्नुका साथै पहाडी तथा ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढाएको हो।

वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेका छन् भने नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको छ। सम्भावित विपद्लाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका ७७ जिल्लालाई बाढी तथा पहिरोको जोखिमका आधारमा तीन तहमा वर्गीकरण गरेको छ।

प्राधिकरणले जोखिमको अवस्थालाई रातो, सुन्तला र पहेँलो रङमार्फत संकेत गरेको छ। वर्गीकरणअनुसार २५ जिल्ला रातो अर्थात् उच्च जोखिमको श्रेणीमा परेका छन्।

उच्च जोखिममा रहेका जिल्लामा बाढी तथा पहिरोका कारण यातायात प्रभावित हुन सक्ने भएकाले राति र दिउँसो दुवै समयमा सवारीसाधन सञ्चालन पूर्णरूपमा बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ।

त्यस्तै, २९ जिल्ला सुन्तला रङको जोखिम क्षेत्रमा राखिएका छन्। ती जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्ने तथा दिउँसोको समयमा स्थानीय अवस्था र जोखिमको मूल्याङ्कन गरी सम्बन्धित जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिनुपर्ने व्यवस्था सुझाइएको छ।

यसैगरी २३ जिल्ला पहेँलो रङमा राखिएका छन्। यी जिल्लामा बाढी, पहिरो तथा वर्षाजन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन भनिएको छ।

प्राधिकरणले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो जाने तथा सडक अवरुद्ध हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई मौसम तथा स्थानीय प्रशासनको सूचनाप्रति सचेत रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0