काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ।
बुधबार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रशासनका अनुसार उनीहरू हिमालय होलिडेजसँग आबद्ध थिए। यसअघि घटनामा चार जनाको शव फेला परिसकेको थियो।
थप तीन जनाको शव भेटिएपछि हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। यद्यपि घटनामा अझै नौ जना बेपत्ता छन्।
यसरी बेपत्ता हुनेमा हिमालय होलिडेजका सात जना र इम्याजिन नेपालका दुई जना रहेको प्रशासनले जनाएको छ। बेपत्ताको खोजी तथा शव निकाल्ने कार्यका लागि हिमलुङ क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ।
आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा खोज तथा उद्धार टोली खटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ।
उद्धार टोलीले हिमलुङ क्षेत्रमा बेपत्ताको खोजी तथा थप शव निकाल्ने काम जारी राखेको छ।












