झापा । तोपगाछी–धरमपुर मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा माध्यमिक विद्यालय (मावि) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। विजयादशमी, शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका विद्यार्थीहरूबीच आयोजित प्रतियोगिता आइतबार शिवसताक्षी–१ स्थित प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न भएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा ध्रुवतारा आवासीय माध्यमिक विद्यालय, शिवसताक्षी–९, दुधेकी दीक्षा मैनाली प्रथम भएकी छन्।

त्यस्तै, विज्ञान एजुकेसनल एकेडेमी, शिवसताक्षी–३, पाराबारीकी सृष्टि नेपाल दोस्रो, मेची इङ्लिस स्कुल, शिवसताक्षी–१०, माइधारकी युना प्रसाईं तेस्रो भएका छन्। भगवती आधारभूत विद्यालय, शिवसताक्षी–८ की शरला दर्नाल र कमला मदन आश्रित उच्च माध्यमिक विद्यालय, कमल गाउँपालिका–२, क्याम्पाकी कविता बजगाईंले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीले क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

साहित्यकार अभागी थेगुवा, विवश बलिभद्र कोइराला र लीला अनमोलले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा प्रतिनिधिमूलक रूपमा पाँच जना कविले कविता वाचन गरेका थिए। कविता वाचन गर्नेहरूमा कृष्णप्रसाद मिश्र, हर्कराज राई, विवेक क्षेत्री दुलाल, दिल भुटानी र अर्जुन दुलाल रहेका थिए।

कार्यक्रममा विभिन्न साहित्यकार, समाजसेवी तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। उपस्थित साहित्यकारहरूमा उमानाथ दाहाल, लीलाप्रसाद अधिकारी, हेम अधिकारी, बिन्दु दाहाल ‘मुकदर्शक’, जानुका गुरागाईं, भूपेन्द्र तिम्सिना, तुलसीप्रसाद भट्टराई, रामकुमार उपाध्याय, रामचन्द्र खनाल, तिलक राई, हिम्मत नेम्बाङ, मुक्ति तिमल्सिना, यादवप्रसाद घिमिरे, लोकमणि गौतम, एनबी दाहाल, विराट किराँती, चन्द्रवीर नेम्बाङ, हरि पराजुली, मुकुन्द लामिछाने, कृष्ण काश्यप, टंक न्यौपाने, निहाङ किराँती, पृथ्वी बोहरा, देउमान चेम्जोङ, विचारी लावती, सञ्जय राई, सरिता चेम्जोङ र तलु वास्केलगायत रहेका थिए। कार्यक्रममा समाजसेवी नगेन्द्र बोहोरा, घनश्याम पोखरेल र नरेन्द्र दाहाल, डीपी न्यौपानेलगायतको पनि उपस्थिति थियो।

प्रतिष्ठानका अध्यक्ष दिलीप घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तोपगाछी–धरमपुर मैत्री समाजका सचिव केशव खतिवडाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन नवनासो साहित्य प्रतिष्ठानका सचिव तेजेन्द्र घिमिरे र मैत्री समाजका उपाध्यक्ष बेगेन्द्र सुब्बाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0