झापा । झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। बुधबार बिहान बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको दुईतले पक्की घरमा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसलका सामान, औषधि तथा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार बिहान १०ः४० बजे घरधनी राजेश मण्डलको दुईतले घरमा सञ्चालित शुभलाभ इलेक्ट्रोनिक्सको गोदाममा विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सागर घोषले सञ्चालन गरेको उक्त पसलको गोदाममा रहेका इलेक्ट्रोनिक सामान पूर्णरूपमा जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादह नगरपालिकाका सातवटा दमकल परिचालन गरिएको थियो। स्थानीय बासिन्दा तथा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत आगो निभाउन खटिएका थिए। आगो नियन्त्रणमा लिन जेसीबीसमेत प्रयोग गरिएको थियो।
करिब पाँच घण्टाको प्रयासपछि दिउँसो ४ः३० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदामका इलेक्ट्रोनिक सामानमा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, सञ्चालक राजेश खतिवडाको निरिका फर्माको फार्मेसी तथा गोदाममा रहेका औषधिमा करिब १ करोड रुपैयाँ र घरधनी राजेश मण्डलको दुईतले घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट कुल करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको बिर्तामोड प्रहरीले जनाएको छ।












