झापा । वैदिक मन्त्र, धार्मिक आस्था र शास्त्रीय विधिको समन्वयमा झापाको शिवसताक्षीस्थित शताक्षीधाममा आगामी माघ ९ गतेदेखि आयोजना हुने गायत्री कोटी हवनको भूमिपूजन सम्पन्न भएको छ। पवित्र धार्मिक अनुष्ठानको शुभारम्भस्वरूप पाँच तोलाको सुनको हलोले भूमिको उत्खनन गरी वैदिक विधिअनुसार भूमिपूजन गरिएको हो।
सनातन धर्म तथा शास्त्रीय परम्परामा ठूला यज्ञ, हवन र धार्मिक अनुष्ठान प्रारम्भ गर्नुअघि भूमिलाई पूजा गरी शुभारम्भ गर्ने विधान रहेको छ। भूमिलाई माता तथा समस्त जीवनको आधारका रूपमा श्रद्धा गरिने धार्मिक मान्यताअनुसार सुनको हलोबाट भूमि खनेर गायत्री कोटी हवनको भूमिपूजन गरिएको आयोजकले जनाएको छ।
भूमिपूजन समारोहमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, कोटी हवन आयोजक समितिका अध्यक्ष तथा गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज, विदेशी धार्मिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए। वैदिक मन्त्र तथा धार्मिक विधिअनुसार करिब दुई घण्टासम्म चलेको भूमिपूजन समारोह श्रद्धा र भक्तिमय वातावरणमा सम्पन्न भएको थियो।
भूमिपूजनमा मुख्य भूमिका निर्वाह गरेका कांग्रेस झापाका सभापति देउकुमार थेबेले हिन्दू धर्मशास्त्रअनुसार पवित्र धार्मिक विधिमा सहभागी हुन पाउनु आफ्नो लागि गौरवपूर्ण अवसर भएको बताए। ‘म लिम्बूको छोरा हुँ । हिन्दू धर्मशास्त्रअनुसार वैदिक विधि पुर्याएर भूमिपूजन गर्ने मुख्य भूमिकामा रहन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु,’ उनले भने।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेलगायतको सहभागिता थियो। प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाम्फेले शताक्षीधाममा आयोजना हुन लागेको गायत्री कोटी हवनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप सुदृढ बनाउनुका साथै वातावरणीय संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
झापाको धार्मिक इतिहासमा कोटी हवनको विशेष महत्त्व रहँदै आएको छ। विसं २०४२ मा योगी नरहरिनाथले हालको कन्काई नगरपालिका क्षेत्रस्थित कोटी हवनस्थलमा धार्मिक अनुष्ठान आयोजना गरेका थिए। त्यसको करिब चार दशकपछि झापाकै शिवसताक्षीस्थित शताक्षीधाममा पुनः गायत्री कोटी हवन आयोजना हुन लागेको हो। फरक स्थानमा आयोजना हुन लागेको यस धार्मिक अनुष्ठानले झापाको सनातन धार्मिक परम्परा, सांस्कृतिक विरासत र आध्यात्मिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
आगामी माघ ९ गतेदेखि सञ्चालन हुने गायत्री कोटी हवनमा स्वदेश तथा विदेशका धार्मिक व्यक्तित्व, साधुसन्त र श्रद्धालु भक्तजनहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ। यज्ञ, हवन, वैदिक मन्त्रपाठ तथा धार्मिक गतिविधिमार्फत शताक्षीधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित गराउने लक्ष्य आयोजकले राखेको छ।
धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस अनुष्ठानले शताक्षीधामको महिमा विस्तार गर्नुका साथै धार्मिक पर्यटन, स्थानीय व्यापार, सामाजिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।












