झापा । बाढीले धानखेत बगाएर बगर बनाएपछि निराश बनेका झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवाल अहिले त्यही बगरमा बदाम फलाएर उत्साहित हुनुभएको छ । गत वर्ष सानो माईखोलामा आएको बाढीले उहाँको दुई बिघा उर्वर धानखेत बगाएर बालुवाको बगरमा परिणत गरिदिएको थियो । तर, विपत्तिलाई अवसरमा बदल्ने सोचका साथ उहाँले सुरु गरेको बदामखेती अहिले सफल भएको छ ।
बगर बनेको खेतमा यस वर्ष अग्रवालले करिब २० क्विन्टल बदाम उत्पादन गर्नुभएको छ । उत्पादित बदाम बजारमा प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । परम्परागत धानखेती गर्न नसकिने अवस्थामा पुगेको जमिनमा नयाँ सम्भावना खोज्दै उहाँले बदामखेती सुरु गर्नुभएको हो ।
“धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो । बाढीको कहरले म स्तब्ध भएँ, तर विचलित भइनँ,” अग्रवालले भन्नुभयो, “अब यो जमिनमा के खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थालेँ । बदाम फल्छ भन्ने थाहा पाएपछि उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”
उहाँले सुरुमा भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर पाँच कट्ठा जमिनमा परीक्षणका रूपमा खेती गर्नुभएको थियो । पहिलो प्रयासमै बाली राम्रो भएपछि उत्साहित हुनुभएका अग्रवालले खेती विस्तार गर्दै अहिले दुई बिघा क्षेत्रफलमा बदाम लगाउनुभएको छ ।
पहाडी क्षेत्रमा बढी प्रचलनमा रहेको बदामखेती झापाजस्तो तराईको भूभागमा पनि सफल भएपछि उहाँको प्रयास उदाहरणीय बनेको छ । कृषि प्राविधिकको सुझावअनुसार परीक्षण खेती सुरु गर्नुभएका अग्रवालले आफ्नो मेहनत र प्रयोगबाट तराईमा पनि बदाम उत्पादन सम्भव रहेको पुष्टि गर्नुभएको छ ।
अग्रवालका अनुसार धान तथा अन्य परम्परागत बालीको तुलनामा बदामखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना छ । जेठ महिनामा रोपिएको बदाम कात्तिकमा तयार भएपछि अहिले उहाँलाई बाली भित्र्याउने चटारो छ । यसपटक उत्पादित बदाम बिक्रीबाट राम्रो आम्दानी हुने उहाँको अपेक्षा छ ।
झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाका अनुसार खुकुलो, हलुका तथा बलौटे–दोमट माटो र तराईको न्यानो हावापानी बदाम उत्पादनका लागि उपयुक्त हुन्छ । यस्तो माटोमा बदामको उत्पादन राम्रो हुने भएकाले बालुवायुक्त जमिनलाई समेत सदुपयोग गर्न सकिने उहाँको भनाइ छ ।
स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि बदामलाई पौष्टिक खाद्यवस्तुका रूपमा लिइन्छ । बाढीले खेत बगरमा परिणत गरेपछि खेती गर्न नसकिने ठानेको जमिनमा नयाँ सम्भावना खोजेका अग्रवालको प्रयासले विपत्तिपछि पनि कृषि क्षेत्रमा विकल्प खोज्न सकिने सन्देश दिएको छ ।












