झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले किसानलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उन्नत जातको बीउ वितरण गरेको छ। वडा कार्यालयले शुक्रबार किसानलाई तोरी र टीपीएस आलुको बीउ वितरण गरेको हो।

वडाध्यक्ष सन्त फेउदिनका अनुसार लागत सहभागितामा ४४० जना किसानलाई टीपीएस आलु र २७० जना किसानलाई तोरीको बीउ वितरण गरिएको छ। किसानलाई थोरै भए पनि गुणस्तरीय तथा उन्नत जातको बीउ उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

वडाले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमअन्तर्गत किसानले आफ्नो इच्छाअनुसार तोरी वा टीपीएस आलुमध्ये कुनै एक जातको एक किलो बीउ प्राप्त गर्न सक्छन्। यसका लागि जग्गाधनी प्रमाणपुर्जा वा जग्गासम्बन्धी आधिकारिक निस्सा र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था छ। किसानले लागत साझेदारीस्वरूप ५० रुपैयाँ योगदान गरेर बीउ प्राप्त गर्न सक्नेछन्।

आवश्यक कागजात जुटाउँदा लाग्ने खर्चसमेत जोड्दा किसानले कम्तीमा ७० रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। बजारमा उन्नत जातको तोरीको बीउ प्रतिकिलो करिब ३५० रुपैयाँ र टीपीएस आलुको बीउ करिब ४५० रुपैयाँ पर्ने भएकाले किसानले निकै सहुलियतमा बीउ प्राप्त गरेका छन्।

बीउ प्राप्त गर्ने लाभग्राहीमध्येका परमानन्द शिवाकोटीले प्राप्त गरेको एक किलो टीपीएस आलुको बीउ रोपेर आगामी वर्ष १० किलो बीउ उत्पादन गर्ने र त्यसपछि १० कठ्ठा जग्गामा आलुखेती विस्तार गर्ने योजना सुनाउनुभयो। रोगप्रतिरोधी क्षमता भएको टीपीएस आलुको खेती विस्तार गर्न सके आम्दानीको नयाँ स्रोतसमेत बन्ने उहाँको अपेक्षा छ।

वडाका अनुसार हालसम्म करिब ४०० किसानले यस कार्यक्रमबाट लाभ लिइसकेका छन्। कार्यक्रममार्फत कम्तीमा ५०० किसानलाई सहभागी गराउने लक्ष्य राखिएको छ। आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्ने योग्य किसानले अझै पनि बीउ प्राप्त गर्न सक्ने वडाले जनाएको छ।

वडाध्यक्ष फेउदिनले कार्यक्रमबारे सार्वजनिक सूचना जारी गरिए पनि सबै किसानसम्म जानकारी पुग्न नसकेको बताउनुभयो। उहाँले वडाबाट सञ्चालन हुने सेवा तथा सुविधाबारे जानकारी लिन र लक्षित कार्यक्रमबाट लाभ लिन वडावासीलाई आग्रह गर्नुभयो।

बीउ वितरणका क्रममा वडाध्यक्ष फेउदिनले आफू उम्मेदवार बनेर गाउँगाउँमा मत माग्न जाँदा नागरिकसमक्ष गरेका प्रतिबद्धता र आश्वासनसमेत स्मरण गर्नुभयो। कार्यकाल छोटिँदै गएको र आगामी स्थानीय तह निर्वाचनपछि वडाको नेतृत्व कसले गर्ने भन्ने निश्चित नभएको उल्लेख गर्दै उहाँले नागरिकको मन जित्न सक्नु नै आफ्नो लागि खुसीको विषय भएको बताउनुभयो।

उहाँका अनुसार जनप्रतिनिधिको वास्तविक मूल्याङ्कन भाषण र आश्वासनबाट मात्र नभई नागरिकले दैनिक जीवनमा अनुभूत गर्ने सेवा प्रवाह, व्यवहार र विकास निर्माणका कामबाट हुनुपर्छ। शिक्षा, स्वास्थ्य, कृषि तथा विकास निर्माणका क्षेत्रमा वडाले गरेको कामले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0