शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । यसैक्रममा नगरपालिकाले वडा नं. १ देखि ६ सम्मका कुल १ हजार ८२३ वटा फाइल प्रमाणीकरण प्रतिवेदनसहित जिल्ला भूमि समस्या समाधान समितिमा पठाएको जनाएको छ ।
भूमि समस्या समाधान समितिमार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका नागरिकको आवश्यक विवरण सङ्कलन, कागजात संकलन तथा प्रमाणीकरणको काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार सुरुमा वडा नं. १ र २ का ७९८ वटा फाइल जिल्ला समितिमा पठाइएको थियो । त्यसपछि वडा नं. ३, ४, ५ र ६ का थप १ हजार २५ वटा फाइल पनि जिल्ला समितिमा पठाइएको हो । यससँगै हालसम्म नगरपालिकाबाट जिल्ला भूमि समस्या समाधान समितिमा पठाइएका फाइलको सङ्ख्या १ हजार ८२३ पुगेको छ ।
नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाको तर्फबाट गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका वडाहरूमा पनि आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकामा कागजात प्राप्त हुनासाथ प्रमाणीकरणको काम सम्पन्न गरेर जिल्ला समितिमा पठाउने तयारी भइरहेको छ ।
नगरप्रमुख थोप्राले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले नगरपालिकाले आफ्नो जिम्मेवारीअन्तर्गतका काममा कुनै ढिलाइ नगरी प्रक्रिया अघि बढाइरहेको बताउनुभयो । अबको प्रक्रिया भने जिल्ला भूमि समस्या समाधान समितिबाट अगाडि बढ्ने उहाँको भनाइ छ ।
नगरपालिकाका अनुसार स्थानीय तहबाट प्रमाणीकरण गरी पठाइएका फाइलहरू जिल्ला भूमि समस्या समाधान समितिले रुजु तथा आवश्यक जाँचबुझ गर्नेछ । त्यसपछि समितिबाट नगरपालिकालाई जग्गा नापजाँचका लागि पत्र प्राप्त भएपछि मात्रै नगरपालिकाले नापी तथा नक्साङ्कनसम्बन्धी काम अघि बढाउनेछ ।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लामो समयदेखिको समस्या समाधान गर्ने प्रक्रियामा फाइल प्रमाणीकरण र जिल्ला समितिमा पठाउने कामलाई महत्त्वपूर्ण चरणका रूपमा लिइएको छ । अब जिल्ला समितिबाट हुने रुजु, जाँचबुझ र आवश्यक निर्णयपछि जग्गा नापजाँच तथा आगामी प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।
भूमिसम्बन्धी समस्या समाधानको प्रक्रिया निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा अघि बढेमा वर्षौंदेखि जग्गाको स्वामित्व र बसोबाससम्बन्धी अन्योलमा रहेका नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ ।












