रात्रिकालीन खेलकुद सञ्चालन गर्ने लक्ष्य, चार करोड लागत अनुमान
शिवसताक्षी । निर्वाचनका बेला जनतासँग गरेको खेलकुद विकासको प्रतिबद्धता कार्यान्वयन गर्दै झापाको शिवसताक्षी नगरपालिकाले दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ । खेलकुदका माध्यमबाट नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित रंगशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न नगरपालिकाले पूर्वाधार निर्माणको तयारी थालेको हो ।
दोस्रो झापा महिला गोल्डकपको उद्घाटन समारोहमा नगरप्रमुख मेगाहाङ थोप्राले दुधे रंगशालामा फ्लडलाइट जडान गर्ने योजना सुनाउँदै खेलकुद पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार फ्लडलाइट जडानका लागि पहिलो चरणको एक करोड तीन लाख रुपैयाँको ठेक्का प्रक्रिया पूरा भइसकेको छ । ठेक्का सम्झौता सम्पन्न भएपछि निर्माण कार्य सुरु हुनेछ । आवश्यक थप बजेट जुटे आगामी पुसभित्रै फ्लडलाइट जडान सम्पन्न गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
‘हामी खेलकुदका माध्यमबाट शिवसताक्षी नगरलाई देशविदेशमा चिनाउन चाहन्छौँ । त्यसका लागि नगरकार्यपालिका दत्तचित्त भएर लागेको छ,’ नगरप्रमुख थोप्राले भने । उनले आगामी वर्ष आयोजना हुने तेस्रो झापा महिला गोल्डकपलाई समेत दर्शकको सहजतासँग जोड्दै उद्योगी, व्यवसायी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणले आफूलाई पायक पर्ने समयमा खेल हेर्न सक्ने वातावरण बनाउने लक्ष्य रहेको बताए ।
फ्लडलाइट जडानका लागि करिब चार करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसमध्ये पहिलो चरणमा एक करोड तीन लाख रुपैयाँको ठेक्का प्रक्रिया अघि बढाइएको हो । थप डेढदेखि दुई करोड रुपैयाँ अनुदान प्राप्त भए आगामी पुसभित्रै फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालले बताए । बाँकी बजेट जुटाउन संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नगरपालिकाको तयारी छ ।
योजनाअनुसार रंगशालाको चार कुनामा ३० मिटर अग्ला चारवटा टावर निर्माण गरिनेछ । पहिलो चरणमा टावर निर्माणसँगै जेनेरेटर, ट्रान्सफर्मर र विद्युत् आपूर्तिका लागि आवश्यक केबलको व्यवस्था गरिनेछ । दोस्रो चरणमा प्रत्येक टावरमा कम्तीमा एक हजार वाट क्षमताका बत्ती जडान गर्ने योजना छ ।
रंगशालामा खेल सञ्चालनका लागि आवश्यक प्रकाशको गुणस्तर लक्स मापदण्डअनुसार कायम गर्दै मैदानमा १२ सयदेखि १४ सय लक्ससम्म प्रकाश पुर्याउने लक्ष्य रहेको इन्जिनियर बरालले बताए । पर्याप्त प्रकाशको व्यवस्था गरिने भएकाले खेलाडी तथा खेल सामग्रीबाट उत्पन्न छायाँले खेलमा बाधा नपुग्ने गरी फ्लडलाइट प्रणाली निर्माण गरिने उनको भनाइ छ ।
फ्लडलाइट जडानपछि दुधे रंगशालामा फुटबलसँगै एथलेटिक्सलगायत खेलकुद गतिविधि रातिको समयमा पनि सञ्चालन गर्न सकिनेछ । यसले प्रतियोगिता आयोजना गर्ने समयावधि बढाउनुका साथै खेलाडीलाई अभ्यासको थप अवसर र दर्शकलाई अनुकूल समयमा खेल हेर्ने सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । रात्रिकालीन खेलकुद गतिविधिले आसपासका होटल, यातायात, खानपान तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले बताए ।
नगरप्रमुख थोप्राले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर आफू र आफ्नो पार्टीले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे । ती प्रतिबद्धता क्रमशः कार्यान्वयन हुँदै जाँदा आत्मसन्तुष्टि मिलेको बताउँदै उनले नगरवासीको खेलप्रतिको उत्साह र मोहलाई सम्मान गर्ने प्रयास भइरहेको बताए ।
‘जनतासँग गरेको वाचा यो पनि पूरा भयो भने कुनै प्रतिबद्धता बाँकी रहने छैनन्,’ उनले भने ।
दुधे रंगशालाको विकास स्थानीय खेलप्रेमीको लामो प्रयास र लगावको परिणाम हो । करिब दुई दशकअघि सामान्य खेलमैदानका रूपमा रहेको दुधेमा स्थानीयले फुटबल खेल्दै आएका थिए । पछि भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता तथा ए डिभिजन क्लब सहभागी दुधे गोल्डकप आयोजना हुन थालेपछि मैदानले फुटबल क्षेत्रमा छुट्टै पहिचान बनाउन थालेको हो । त्यससँगै मैदानलाई व्यवस्थित रंगशालाका रूपमा विकास गर्ने प्रयास अघि बढेको थियो ।
शिवसताक्षी नगरपालिकाले २०७४ सालमा रंगशालाको गुरुयोजना तयार गरेपछि पूर्वाधार विकासलाई गति दिएको हो । स्थानीय सरकारको लगानी र खेलप्रेमीको सक्रियतामा मैदान स्तरोन्नति, स्थायी प्यारापिट, मञ्चलगायत संरचना निर्माण हुँदै आएका छन् । झापा महिला गोल्डकपजस्ता प्रतिष्ठित प्रतियोगिता आयोजना हुन थालेपछि दुधे रंगशाला जिल्लाकै प्रमुख खेलकुद केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
फ्लडलाइट जडान योजना सम्पन्न भएपछि दुधे रंगशाला दिउँसो मात्र नभई राति पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सुविधायुक्त स्थल बन्नेछ । निर्वाचनका बेला व्यक्त गरिएको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने नगरपालिकाको यो प्रयासले खेलकुद पूर्वाधारको विकास, खेल पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिको विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।












