शिवसताक्षी। झापाको पाँचगाछीमा ऐतिहासिक आदिबासी फुटबल प्रतियोगिता हुने भएको छ । पाँचगाछीको आदिबासी रंगाशालामा दोस्रो संस्करणको ऐतिहासिक फुटबल प्रतियागिता हुने भएको हो ।
प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले ५० हजार रुपैयाँ र ४ नम्बर वडा कार्यालयले १ लाख आर्थिक सयोगमा फुटबल प्रतियोगिता हुन लागेका आायोजकले जनाएको छ । आयोजकका अनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न अन्य दाता र सहयोगीहरुबाट गरिने छ । प्रतियोगिता फागुन २६ गतेबाट सुरु हुने बताइएको छ ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमले नगद ३१ हजार रुपैयाँ, उपविजेताले २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा आदिवासी समुदायका खेलाडी मात्र सहभागी हुन पाउनेछन्। आयोजक समितिका अध्यक्ष पल्टन ताजपुरियाका अनुसार राजवंशी, ताजपुरिया, सन्थाल, थारु, गनगाई, कुमाल, मेचे, मधेसीमाघी, चौधरी र कोचे जातिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। अन्य जातिका खेलाडीलाई सहभागी गराइने छैन।
स्थानीय बासिन्दाहरूले यो प्रतियोगितालाई आदिवासी समुदायको खेल संस्कृतिको जगेर्नाका रूपमा लिएका छन्। जानकारहरूका अनुसार नेपालमा फुटबलको इतिहासमा यस्तो छुट्टै आदिवासी प्रतियोगिता दोस्रोपटक आयोजना भएको हो।
प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक दिन दुई खेल सञ्चालन गरिनेछ भने क्वार्टरफाइनलदेखि प्रत्येक दिन एउटा मात्र खेल हुने आयोजक समितिले जनाएको छ। खेलप्रेमीहरूका लागि विशेष आकर्षणका रूपमा रहेको यो प्रतियोगिता आदिवासी समुदायको पहिचान प्रवर्द्धन गर्ने ऐतिहासिक अवसर बन्ने अपेक्षा गरिएको छ।












