मेचीनगर । मेचीनगर नगरपालिकामा भीआईए स्क्रिनिङ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
नगरपालिकाले यही फागुन ८ गतेदेखि २१ गतेसम्म नगरको चार वटा वडामा भीआइए स्क्रिनिङ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको हो ।
शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धी पनि जाँच गरिएको थियो ।
नगरपालिकाका ४ वटा वडाको स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । चारवटै वडाको शिविरमा आएका २७२ जनाले परीक्षण गराएकोमा ५२ जना शंकास्पद विरामी भेटिएको उनले बताइन् ।
उनका अनुसार वडा नम्बर १४ को शिविरमा ८८ जना आएकामा १४ जना शंकास्पद विरामी भेटिएको, वडा नम्बर १२ को शिविरमा ६० जना आएकामा १६ जना शंकास्पद विरामी भेटिएको, वडा नम्बर १३ को शिविरमा ६६ जना आएकामा १८ जना शंकास्पद विरामी भेटिएको, वडा नम्बर १० को शिविरमा ५८ जना आएकामा ४ जना शंकास्पद विरामी भेटिएको हो ।
जोखिममा रहेका विरामीहरुलाई थप निःशुल्क उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने गरिएको उनको भनाई छ ।
वडा नम्बर १४ मा आएकी एकजना ५५ वर्षीया महिलाले भनिन्– ‘पहिला यस्तो सेवा सुविधा थिएन । तल्लो पेट दुख्थ्यो । आङ खस्ने समस्या भन्थे । यो भयो, त्यो भयो भनेर कसलाई भन्नु । उपचार गर्न पनि पैसा हुँदैनथ्यो । डाक्टर र घर परिवारलाई भन्न पनि गाह्रो थियो । अहिले सजिलो भएको छ । ढिलो आएँ, रोग लागिसकेको अवस्था रहेछ ।’
प्रत्येक ३/३ वर्षमा उपचार गरिने उक्त प्रकारका विरामीलाई स्वास्थ्य शाखाले दुई वर्षदेखि नियमित सेवा दिइरहेको छ ।
गत वर्ष २०८०/८१ मा ४४२ जनाको उपचार गरेकोमा १८ जना जोखिमका शंकास्पद विरामी रहेको शाखाले जनाएको छ ।
यस्तै गत वर्ष २०७९/८० मा १५० जनाको उपचार गरेको थियो ।
शाखा प्रमुख सापकोटाका अनुसार नेपालमा पाठेघरको क्यान्सर महिलाहरुमा मुख्य समस्याको रुपमा रहेको छ । पहिला रोग लुकाएर विरामी भए । अहिले रोग थाहा हुने वित्तिकै स्वास्थ्य केन्द्र, अस्पताल र शिविरमा आउनेको संख्या बढ्न थालेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोखिममा रहेका महिलाहरुको अवस्थाका बारेमा स्वयमसेविकाहरुले पनि निगरानी राख्ने गरेको शाखाको भनाई छ ।












