काठमाडौं । ‘वुमेन्स डे महिला टि–२० आई सिरिज’ अन्तर्गत नेपालले घरेलु टोली युगाण्डामाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । टोलीका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाइन् । स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रनको योगदान दिइन् । नेपालका लागि पुजा महतोले ३ विकेट लिँदा कप्तान इन्दु बर्माले २ विकेट हात पारिन् ।
७६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा साना प्रविनले सर्वाधिक १७ रन जोडिन् । पुजा महतोले १६ रन बनाउँदा कप्तान रुबिना क्षेत्री १० रनमा आउट भइन् । यस जितसँगै नेपालले सिरिजमा पहिलो जित हासिल गरेको छ भने युगान्डाले पहिलो हार ब्यहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने युगान्डाले हङकङलाई हराएको थियो । जारी सिरिजमा नेपाल, युगाण्डा, नामिबिया र हङकङ सहभागी छन् ।












