शिवसताक्षी । झापा शिवसताक्षीमा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धान रोपिएको छ । कृषि ज्ञान केन्द्र झापाले प्रविधिको प्रयोग गरेर परिक्षणका लागि चैते धान रोपेको हो ।

यस अन्तर्गत आज शिवसताक्षी नगरपालिका वडा नं. ३ मा २० विगाहमा प्रविधिको प्रयोग गरेर चैते धान रोपिएको हो । परम्परागत खेती भन्दा प्रविधिबाट खेती गर्दा सस्तो र उत्पादन पनि बढी हुने भएकाले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमबाट मेसिनबाट चैते धान रोपिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। शिवसताक्षी नगरपालिकाको आयोजना ज्ञान केन्द्र झापाको अनुदानमा प्रविधिबाट धान रोपिएको हो ।

किसानलाई धानखेतीको आधुनिक प्रबिधि सिकाएर लागत घटाउन र उत्पादन बढाउन साथै समयको पनि बचत हुने भएकाले आधुनिक कृषि प्रबिधि प्रयोग गर्दै चैते धानको रापाइँं गरिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन।उनले समय सापेक्ष रुपमा शिवसताक्षी नगरपालिकाले पनि किसानहरुलाई धान रोप्नका लागि धान रोप्ने मेसिन खरिद प्रकृया अघि बढाइ सकिएको जानकारी दिइन् । प्रविधिबाट धान रोप्दा कृषकले धान रोप्ने रोपार नपाउने झन्डट हट्नेछ भने, अहिले सम्मको मेसिनले रोपेको धानको परिणाम हेर्दा उत्पादन बढेको देखिएको उपप्रमुख कार्कीको भनाई छ ।

स्थानीय विनायक कृषि समूहले सञ्चालन गरेको जग्गामा चैत धान रोपिएको वडाध्यक्ष भाष्कर न्यौपानेले बताए । उनले कृषिलाई प्रविधि मैत्री बनाउदा कृषकहरुलाई ठूलो राहत मिल्ने जानकारी दिए । उनले भने,वडाले न्यून बजेटका कारण ठूला मेसिन खरिद गरेर किसानलाई राहत दिन सकिएको छैन ।

झापाका चार पालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमूना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए। ‘किसानलाई प्रबिधि चिनाउँदै प्रबिधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो’, उनले भने, ‘बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।

सुरु–सुरुमा किसानहरुलाई परम्परागत प्रणालीबाट नयाँ प्रबिधिमा जानका लागि केही अप्ठेरो देखिएको भएपनि यसका फाइदा बुझेपछि पछिल्लो समय जिल्लामा आधुनिक प्रबिधिको प्रयोगले खेती गर्ने किसानको संख्या बढ्दै गएको पाइएको छ । अहिले जिल्लामा हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेष्टर, धान गहुँ, तोरी, मसुरो चुट्ने थ्रेसर मेसिन, धान, गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0