डराएर कामेको स्वर नै लोकप्रिय बन्योः शिरोसान्दाई
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट प्रेरणा प्रदान गर्ने, अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा शिरोसान्दाई खतिवडाले आफु प्राध्यापक, एक कुशल व्यापारी हुँदै कञ्चनजंघा एफसँग लामो समय कामगरेको अनुभव सुनाउनु भएको थियो । आफ्ना स्मरणहरु आफुले भोगका तिता मिठा अनुभवहरु पछिल्ला पुस्ताका पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

सान्दाई खतिवडाले आफुले कञ्चनजंघा एफ.एम.बाट सञ्चालन भएको समवेदना कार्यक्रममा पहिलो पल्ट सञ्चालन गर्दा डराएर कामेको स्वर नै दर्शकले मनपराएको बताउनु भयो । उहाँले भन्नु भयो, पहिलो पल्ट कार्यक्रम चलाउदा डराएर स्वर कामेको थियो । त्यस पछि त्यही कार्यक्रमले लामो समय निरन्तरता पायो ।
आज कञ्चजंघ एफ.एम. विविध कारणले बन्द छ । तर कार्यक्रमको लोकप्रियता घटेका छैन । मलाई त्यही कार्यक्रमले आज सबैतिर चिनाएको छ । सान्दाई खतिवडाले आफुले विर्तामोडमा जिविका नामक पुस्तक पसल चलाएदेखि नै कही कही रुपमा पत्रकारिता क्षेत्रमा जोडिएको बताउनु भयो ।
समवेदना कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाउन सफल उहाँले १८ वर्ष उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बिबिसीले समेत विश्व मै फरक किसिमको कार्यक्रम (समवेदना) सञ्चालन गरेको भन्दै खोजमुलक समाचार प्रकाशन गरेको खतिवडाले अनुभव सुनाउनुभयो ।

तीन दशक प्राध्यापन पेशामा सक्रिय खतिवडाले पत्रकारितासँगको आफ्नो सम्बन्ध, समवेदना कार्यक्रम सञ्चालनका स्मरणहरु सुनाउनु भएको छ । जिवित मान्छेहरुको समेत निधन भएको खवर समवेदना मार्फत प्रशारण भएका घटना र त्यसपछि आइपरेका समस्याहरुको बारेमा समेत जानकारी गराउनुभयो । ती घटनाहरुका कारण सूचनाको जाँच गर्नुपर्ने कुरामा आफू सचेत भएको बताउनुभयो ।
झापाको शान्तिनगर क्षेत्र, प्राध्यापन पेशा र मिडिया क्षेत्रसँग जोडिएको विषयहरुलाई सारमा राख्नु भएका खतिवडाले दुई वर्षदेखि समवेदनाहरु प्रशारण गर्न नपाएकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले समवेदना कार्यक्रम कै कारण सामाजिक रुपमा सम्बन्धहरु विस्तार भएको, मानसम्मान पाएको बताउनुभयो ।
मिडिया क्षेत्रमा मेहनत र लगनशिलताको आवश्यकता भएको बताउँदै नयाँ पुस्ताहरुले मिडिया मार्फत समाजलाई योगदान गर्न आएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
पत्रकार महासंघको निर्वाचनमा मात्रै मलाई बोलाइन्छ, अन्य कार्यक्रमहरुमा वास्ता छैन , उहाँले थप्नुभयो – प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएको छु । उहाँले चौतारीले सुरु गरेको अग्रजलाई सुन्ने कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिनुभयो ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले अग्रजलाई सुन्ने कार्यक्रमले पुराना पत्रकारहरुको सिकाई तथा अनुभवहरु नयाँ पत्रकारले प्रत्यक्ष रुपमा सुन्न पाएको बताउनुभयो । उहाँले यो कार्यक्रम मार्फत पुस्ताबीचको दुरी घटाउन मद्दत पुग्ने बताउनु भएको छ । अग्रज पत्रकार खतिवडाको अनुभवले नयाँ पुस्तालाई प्रेरणा मिल्ने न्यौपानेको धारणा थियो । कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले प्रत्येक ३÷३ महिनामा अग्रजलाई सुन्ने कार्यक्रम हुने जानकारी दिनु भयो । उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद दिनु भएको थियो ।












