काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं आन्दोलनमा सहभागी शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब आइरहेको जनाएको छ। महासंघले स्थानीय तहको यस्तो दबाबबाट विचलित नहुन आग्रह गरेको हो।
स्थानीय तहले पत्राचार गर्ने क्रमसँगै केही शिक्षक विद्यालय फर्कन थालेका छन्। २६ दिनदेखि जारी शिक्षक आन्दोलनका कारण १४ शिक्षक घाइते भएका थिए। शनिबारको सरकारसँगको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलन जारी राखेको छ।
महासंघले विज्ञप्तिमा भनेको छ, ‘सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्दै यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दछौं।’ महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने र राज्यसँगको वार्ता निष्कर्ष नपुगेको बताएका छन्।
शनिबार शिक्षकहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरी रोक्न सफल भयो। आज पनि ११ बजे आन्दोलन जारी राख्ने कार्यक्रम अनुसार निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गर्दा ६३ जना घाइते भएका छन्।












