विर्तामोड । विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ ।
नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ ।
नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उहाँले बताउनुभयो ।
पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु २६, बन्दागोवी रु २४, ब्रोकाउली रु ३५, खुर्सानी रु ५४, घिरौँला रु २६, करेला रु ३२, भन्टा रु २६, सिमी रु ४६, काँक्रा रु २५, भिन्डी रु ३६, फर्सी रु ३१, स्क्वास फर्सी रु २५, भेँडे खुर्सानी रु ५१, बोडी रु ३०, लौका रु २७ र टमाटरको रु ३० कामय गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले बजारमूल्य भन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताउनुभयो । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उहाँले बताउनुभयो ।
उहाँले विर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि विर्तामोड–७ को वडा कार्यालय नजिकै रु ९० लाखभन्दा बढीको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताउनुभयो ।
चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।












