शिवसताक्षी । सतासीधाम जेसीजले नयाँ नेतृत्व पाएसँगै सक्रिय देखिएको छ । सतासीधाम जेसीज वर्ष २०२५ को नयाँ कार्यसमिति चयन भए लगत्तै एक पछि अर्को कार्यक्रम धमाधम गरिरहेको छ।
जेसीजले माघ १२ गते पदहस्तान्तरण कार्यक्रम सकिएसगै माघ १६ गते सहिद दिवसको अवसर बनाएर विभिन्न कार्यक्रमहरुको आयोजना गरेको सतासीधाम जेसीज वर्ष २०२५ का अध्यक्ष पदम जंग कुँवरले जानकारी दिएका छन्।

सतासीधाम जेसीजले आफ्नो पहिलो बोर्ड बैठक सकेर पहिलो कार्यक्रम अन्तर्गत झण्डातोलन कार्यक्रम गरेको छ । सतासीधाम जेसीजको सामुदायिक कभर्डहलमा नेपालको र सतासीधाम जेसीजको झण्डा लगाएर कार्यक्रमको शुभारम्भ गरेको थियो। वर्ष २०२५का सचिव निकेश दाहालको संयोक्त्वमा भएको कार्यक्रममा सतासीधाम जेसीजका वर्ष २०१७ का अध्यक्ष बिनोद खरेलको प्रमुख आतिथ्यता रहेको थियो। खरेल कभर्डहल निर्माण समितीका संयोजक समेत रहेका थिए। कार्यक्रमको सहजीकरण वर्ष २०२५ का महासचिव मन्जिल नेपालले गरेका थिए।
त्यस्तै सतासीधाम जेसीजको दोस्रो कार्यक्रममा सहिद दिवसको अवसरमा नै सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो। जेसीजले दुधे बजारमा निर्माण गरेको जेसीज स्तम्भमा दीप बालेर विभिन्न काल खण्डमा देशका लागि आभूति दिने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । वर्ष २०२५ का उपाध्यक्ष शिशिर उप्रेतीको संयोजक्त्वमा भएको कार्यक्रमको प्रमुख अतिथि शिवसताक्षी वडा नम्बर ११ का अध्यक्ष बहादुर आङ्बोको रहेको थियो। कार्यक्रमको सहजीकरण वर्ष २०२५ का महासचिव मन्जिल नेपालले गरेका थिए।

सतासीधाम जेसीजले माघ १७ गते बिहीबार सदस्यहरुलाई इण्डक्सन एण्ड लोम अफिर ट्रेनिङू आयोजना गरेको थियो । वर्ष २०२५ का तालिम संयोक पुष्प पौडेलको संयोक्त्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाको रहेको थियो। तालिम लिन उपस्थित सबै सदस्यहरुलाई प्रशिक्षण गर्न झुम्का जेसिज वर्ष २०२५ का अध्यक्ष दिपेश बराइली र बारदर्शी जेसिज वर्ष २०२४ का अध्यक्ष पुष्प धमलाको उपस्थिति रहेको थियो। तालिममा ३० जना भन्दा बढी सदस्यहरुको सहभागिता रहेको सतासीधाम जेसिज वर्ष २०२५ का अध्यक्ष पदमजंग कुवरले बताए। कार्यक्रमको सहजीकरण वर्ष २०२५का महासचिव मन्जिल नेपालले गरेका थिए।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देशका साथ सतासीधाम जेसिजले एक जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा पर्ने श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको ५५ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा सतासीधाम जेसीजको पदाधिकारीहरु विद्यालयमा उपस्थित भएर कक्षा १२ मा अध्यानरत छात्र सन्जोग श्रेष्ठको अभिभावकत्व ग्रहण गरेको अध्यक्ष कुवरले बताए। उनको लागि यो वर्ष अध्यापन गर्ने खर्च नगर दस हजार अध्यक्षले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।












