शिवसताक्षी । शिवसताक्षी नपा–३ पाराबारीको आयोजनामा तथा नाइन स्टार युवा क्लब, देवदूत चौकको सहजीकरणमा साहित्य, कला, भाषा तथा संस्कृति प्रवर्दन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रम स्थानीय विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागितासहित विविध विधामा सम्पन्न गरिएको हो।

कार्यक्रममा वडा नं.३ का सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट करिब २५० जनाको सहभागिता रहेको थियो। विभिन्न तहअनुसार १–५, ६–८, ९–१० कक्षा तथा खुल्ला समूहबाट गायन र कविता वाचन प्रतियोगिता आयोजना गरियो।

कुल ८० जना विद्यार्थीहरू सहभागी भएका थिए र हरेक विधामा प्रथम, द्वितीय तथा तृतीय पुरस्कारसहित ट्रफी वितरण गरिएको थियो।

सोही अवसरमा वडा नं. ३ भित्र साहित्य, गीत–सङ्गीत तथा सांस्कृतिक क्षेत्रका प्रतिभाशाली स्रष्टाहरू गीतकार बबिन्द्र नेम्बाङ, सञ्जय राई (वाम्बुले), गायिकाद्वय लोचना लावती शर्मा र मनिता लिम्बू योङ्हाङ, सर्जक जीतबहादुर लिम्बू सिङ्गक तथा प्रेमदुमी राई ‘जरी’ लाई स्रष्टाको रुपमा सम्मान पत्र, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा सर्वदलीय प्रतिनिधि, संघसंस्था, सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू पनि उपस्थित थिए। नाइन स्टार युवा क्लबको तर्फबाट गणेश वाम्बुले राई, शान्ति आधारभूत विद्यालयको प्रअ बिष्णु भट्टराई र इन्द्र तामाङले शुभकामना मन्तव्य राखेका थिए । बिसि बोर्डिङ्ग स्कुलका भाइबहिनीहरूले सांस्कृतिक नृत्यमार्फत कार्यक्रमलाई अझै रंगिन बनाएका थिए।

कार्यक्रम वडाध्यक्ष भास्कर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शर्मा प्रमुख अतिथिका रूपमा, र विशिष्ट अतिथिमा बिराट किराती, अभागी थेगुवा, विवश बलिभद्र कोइराला, सेलिङ्ग केसी, दिलिप घिमिरे तथा नाइन स्टार युवा क्लबका अध्यक्ष शेरबहादुर तामाङ रहनुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0