दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२, दुम्लिङस्थित महाकाली नदीमा तुइन चुँडिँदा एकजना युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाउँका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटना आज दिउँसो १२ बजे भएको हो। दुम्लिङबाट तुइनमार्फत भारततर्फ जान खोज्दा महाकाली नदीको बीच भागमा पुगिसकेपछि तुइन चुँडिएर नारायण नदीमा खसेका थिए।

उनसँगै यात्रा गरिरहेका २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइन प्रयोग गरेर नदी पार गर्ने क्रममा थिए। नारायणभन्दा अघि जितुले सकुशल महाकाली पार गरेका थिए भने जयदु तुइन चढ्न लाग्दै गर्दा दुर्घटना भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार नारायणको खोजी कार्य जारी छ। “स्थानीयवासी र प्रहरी टोली संयुक्त रूपमा नदी किनारमा खोजी कार्यमा खटिएका छन्,” उनले जानकारी दिए।

महाकाली नदी पार गर्न दार्चुलाका स्थानीय बासिन्दाहरूले वर्षौंदेखि जोखिम मोलेर तुइन प्रयोग गर्दै आएका छन्। यसअघि पनि तुइन चुँडिएर मानव क्षति हुने घटना भइरहेकाले स्थायी र सुरक्षित विकल्पको माग पुनः उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0