झापा । सौर्य ऊर्जा उत्पादनमा संलग्न झापा इनर्जी लिमिटेडले धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरका सेयर सार्वजनिक रूपमा जारी गर्ने तयारी गरेको हो।
कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता सेयर अंकित मूल्य रू. १०० मा जारी गर्नेछ। यस सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटललाई दिइएको छ।
१० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सञ्चालक झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ को माघ १० गतेबाट विद्युत उत्पादन सुरु गरेको जनाएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार, आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तर्गतको बुलुचोक सब–स्टेसनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
माघ १० देखि असार ३१ गतेसम्मको अवधिमा कम्पनीले कुल ७२ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ। सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट पाँच करोड २८ लाख ८४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ।
उर्जा क्षेत्रमा निजी लगानीको बढ्दो आकर्षणसँगै झापा इनर्जीको सेयर निष्कासनलाई लगानीकर्ताले चासोपूर्वक हेरिरहेका छन्।












