शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडाका नागरिकको मृत्यु भएमा राहत रकमसहित मृत्यु दर्ता प्रमाण पत्र घरमै दिन सुरु गरेको छ ।
वडाका नागरिकहरुको घरमा भएको दुःखद घटनाका कारण विछिप्त अवस्थामा रहँदा समय अवधि भित्र कतिपय परिवारले मृत्यु दर्ता नगरेको, कतिपयले समय नाघि सकेपछि मात्र घटना दर्ता गर्न आएकाले वडाले मृत्यु दर्ता प्रमाण पत्र घरमै पुरयाउन सुरु गरेको हो ।

आज शिवसताक्षी ६ का दधिराम दमाईको घरमा वडाका सबै जनप्रतिनिधिहरु राहत रकमसहित मृत्यु दर्ता प्रमाण पत्र लिएर पुगेका थिए । दधिराम दमाईकी श्रीमती माया दमाईको २०८२ श्रावण ८ गते मृत्यु भएको थियो ।
आज नवौ पुन्य तिथिका दिन वडा कार्यालयले समवेदना पत्र, राहत रकम र मृत्यु दर्ता प्रमाण पत्र परिवारलाई हस्तान्तरण गरेको हो ।
सानो काम भएपनि यहाँका नागरिकहरुलाई दुःख परेका बेला सहज रुपमा आफ्नो दाहित्व निर्वाह गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले भने, हामीले जे जति कार्यक्रमहरु ल्यायौं ती जनमुखी कार्यक्रम छन् । वडाले स्वास्थ्य विमा, पशु विमा, दुर्घटना विमा जस्ता कार्यक्रमहरु पहिलो पल्ट ल्याएको र पछि अरु वडाहरुले अनुशरण गरेको वडाध्यक्ष खुलालको भनाई छ ।

वडाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा राखेर नयाँ कामको थालनी गरेको वडा सदस्य गोमा रिजालले बताइन् । वडाले नागरिकको मृत्यु भएमा ४५०० राहत रकम हस्तान्तरण गर्दै आएको छ ।
कार्यक्रममा वडा सदस्य गीता दर्जी, नरेन्द्र बस्नेत, गंगा ताजुरिया र वडा सचिव सन्तोष रिमाललगायत उपस्थिति रहेको थियो ।












