नेपालको सवारी साधन बजार अहिले अनौठो अवस्थामा पुगेको छ — एकातिर बैंक तथा वित्तीय संस्थाहरूले चार वर्षयताकै न्यून ब्याजदरमा सवारी कर्जा दिइरहेका छन्, अर्कोतर्फ गाडी बिक्रेताहरूबीच चलेको ‘प्राइस वार’ ले ग्राहकका लागि अभूतपूर्व अफर ल्याएको छ।
यो वर्षदेखि सवारी साधन बिक्रेताहरूका दुई फरक संगठनले वर्षमा दुईपटक सवारी प्रदर्शनी (एक्स्पो) गर्ने निर्णय गरेका छन्। यसकै पहिलो उदाहरणका रूपमा साउन २१ गते बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरू भएको छ।
५० ब्राण्ड, ४८ स्टल, लाखौँको छुट
त्रिपुरेश्वरस्थित प्रदर्शनीमार्गमा भइरहेको यो एक्स्पोमा ५० वटा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्राण्डका ४८ वटा स्टल राखिएका छन्। कार, मोटरसाइकल, स्कुटरदेखि विद्युतीय सवारीसम्मका नवीनतम मोडेल यहाँ प्रदर्शनमा छन्।
एक्स्पोको सबैभन्दा आकर्षक पक्ष भनेको गाडी बुकिङ वा खरिद गर्दा पाउने विशेष छुट हो — बिक्रेताहरूले रु. १ लाखदेखि २० लाखसम्मको नगद छुट घोषणा गरेका छन्।
ब्याजदरमा ऐतिहासिक गिरावट
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, २०७९ माघमा सवारी कर्जाको औसत ब्याजदर १३.७२% थियो।
गत जेठमा यो घटेर ८.४७% मा पुगेको छ, जुन पछिल्लो चार वर्षकै न्यून दर हो।
अझ रोचक कुरा के छ भने, केही बैंकहरूले अहिले ६.५% जत्तिको ब्याजदरमै सवारी कर्जा उपलब्ध गराइरहेका छन्।
यसअघि असोज २०७८ मा यस्तो कर्जाको औसत ब्याजदर ८.३६% थियो। अहिलेको दर त्यतिबेलाभन्दा पनि कम छ, जसले गर्दा हालको समय सवारी खरिद गर्न वित्तीय हिसाबले निकै लाभदायक बनेको छ।












