दमक । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २९औं स्थापना दिवस तथा ३१ औं साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमार्फत संस्थाले आगामी वर्षका लागि पाँच महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ।
घोषित योजनाअनुसार मेची जल उद्योग स्थापनाका लागि रु ३ करोड ५० लाख, मेची सहकारी आवास–२ योजनाका लागि रु ५ करोड, सहकारी विद्यालयका लागि रु २ करोड, जग्गा भाडामा लिएर फलफूलजन्य विरुवा खेतीका लागि रु २ करोड र उर्लाबारी चोकमा व्यावसायिक भवन निर्माणका लागि रु २ करोड बजेट प्रस्ताव गरिएको अध्यक्ष नारायण भट्टराईले जानकारी दिए।

वार्षिक प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी गत वर्षको रु ३७ करोड १८ लाख ९० हजार ४०० बाट बढेर यस वर्ष रु ३९ करोड ७० लाख १७ हजार ३०० पुगेको छ। बचत–निक्षेपमा २३.४८% वृद्धि भई रु ३ अर्ब ७८ करोड ७४ लाख ६२ हजार २५६ पुगेको छ, जसमा दीर्घकालीन बचत ६४.०९% र अल्पकालीन बचत ३५.९०% रहेको छ।
नगद तथा बैंक भण्डारमा झन्डै दोब्बर वृद्धि भई गत वर्षको रु ३८ करोड ३९ लाख २२ हजार ४०९ बाट यस वर्ष रु ७९ करोड ८४ लाख ९३ हजार ४४ पुगेको छ। स्थायी लगानी रु ५ करोड ३६ लाख ५९ हजार ६०० बाट बढेर रु ५ करोड ४२ लाख ५५ हजार ४०० पुगेको छ भने कर्जा लगानी ८.०६% वृद्धि भई रु ३ अर्ब ५६ करोड ३३ लाख २ हजार ९९०.८२ पुगेको छ।
सहकारीका कार्यकारी निर्देशक खोम बगालेका अनुसार तरलता वृद्धि भए पनि ऋण माग र भुक्तानी प्रवृत्तिमा केही कमजोरी देखिन थालेकोले संस्था अब उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने तयारीमा छ।













