शिवसताक्षी । झापाको डुँडामारीमा रहेको श्री कञ्चनजंघा बहुउदेश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापा दमकमा मुख्य कार्यालय रहेको उक्त सहकारीले शिवसताक्षी ८ स्थित डुँडामारी इकाईगत साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाका उपाध्यक्ष विमल प्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न चुनौतिका बीच पनि सदस्य केन्द्रित काम गर्दै आएको बताए । उनले सहकारीले पछिल्लो समय मनकामना इन्जिनियरिङ हाइड्रोपावरमा ६ लाख, सोलुखेला दुधकोशी जलविद्युत आयोजनामा १० लाख लगानी गरेको जानकारी दिए । संस्थाले दमक नगरपालिका वडा नं. १२ मा ३ कठ्ठा जमिनमा खयर, बाँस र रबर प्रजातिका विरुवा लगाएको छ । जसबाट आम्दानी हुन थालेको संस्थाले जनाएको छ ।
वि.सं. २०५६ फागुन महिनामा झापाको दमकबाट सुरु गरेको श्री कञ्जनजंघा बहुदेश्यीय सहकारी संस्थाले हालसम्म आइपुग्दा झापा र मोरङ्गमा ६ ओटा शाखा विस्तार गरिसेकेको छ । उक्त सहकारीमा ३ हजार ५ सय ९६ जना शेयर सदस्य रहेका छन ।
साधारण सभामा लेखा सुपरिवेक्षण समितिकी सदस्य विमला दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको शेयर पुँजी ६ करोड, ४१ लाख, ७९ हजार ५०० रहेको बताइन् । ६१ करोड, ५१ लाख ६ हजार ४७१ लगानी रहेको उक्त सहकारीमा आर्थिक वर्ष २०८१÷०८२ मा ५६ करोड ६२ लाख ३५ निक्षेप संकलन भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार संस्थाका विभिन्न कोषहरुमा ७ करोड ५४ लाख, ११ हजार २९३ रुपैया रकम रहेको छ ।
साधारण सभामा संस्थाले आ.व. २०८२÷०८३ का नयाँ कार्यक्रमहरुको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिनले १८४१ मा बेलायतका एक समाजसेवीबाट सुरु गरिएको सहकारी अभियान अहिले विश्वका धेरै मुलुकहरुमा सञ्चालनमा आएको बताए । नेपालमा २०१३ सालदेखि नेपालमा सहकारी भित्रिएको र यसले मानिसको जीवन स्तर उकास्न ठूलो भूमिका रहेको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सहकारीलेहरुले ठूलो संख्यामा रोजगारी प्रदान गरेको बताइन् । सहकारी एउटा अर्थतन्त्रको ठूलो हिस्सा हो । उनले भनिन् जसले देशको अर्थतन्त्रमा टेवा पुरयाईरहेको छ। उनले सहकारी सिद्धान्त अनुरुप चल्न नसक्दा कपितपय सहकारीहरु डुबेका पनि छन् । जसले गर्दा आम नागरिकले थोरै थोरे गरेर बचत गरेको रकम फिर्ता नहुँदा समस्या आएको समेत प्रमुख अतिथि कार्कीले जानकारी दिइन् । शिवसताक्षी नगरपालिकामा पनि सहकारीले रकम फिर्ता नदिएको गुनासो आउन थालेको उनको भनाई थियो ।

संस्थाले सबै इकाईको साधारण सभा सम्पन्न गरेर भाद्र २९ गते संस्थाको मुख्य कार्यालय दमकमा माइन्युट प्रमाणिरण साधारसभा गर्ने जनाएको छ ।
साधारण सभामा पूर्व नगरप्रमुख चन्द्रकुमार सेर्मा, समाजसेवी जयस्वर आङ्गदेम्बे, पुर्व जनप्रतिनिधि बलजित राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक निलकण्ठ निरौलाले गरेका थिए ।













