काठमाडौं । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवा) ले सोमबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेका छन्। प्रदर्शन बिहान ९ बजे सुरु हुने र बानेश्वरतर्फ मार्च पास गर्दै अघि बढ्ने तय गरिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले पुष्टि गरेका छन्। उनका अनुसार शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्ने भएकाले रोक लगाइएको छैन, तर आवश्यकता परे सुरक्षाकर्मीको संख्या बढाइनेछ।

गत केही दिनयता सामाजिक सञ्जालमार्फत नै प्रदर्शनको आह्वान गरिएको थियो। आइतबार नै केही युवाहरू माइतीघरमा भेला भई व्यवस्थापकीय तयारीबारे छलफल गरेका थिए। सहभागी एक युवाका अनुसार, ‘यसको कुनै ठोस आयोजक छैन। साथीहरूको समूहगत सहभागितामार्फत यो प्रदर्शन भइरहेको हो।’

प्रदर्शनको क्रममा भाषण गर्ने योजना छैन। बरु, नाचगान, सांस्कृतिक प्रस्तुतिहरू र सामूहिक मार्चमार्फत असन्तुष्टि प्रकट गरिने कार्यक्रम तय भएको छ।

यस आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत समर्थन जनाए पनि उनी प्रत्यक्ष उपस्थित हुने छैनन्।

यसैबीच, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समेत कार्यक्रममा सहभागिता जनाउने घोषणा गरेका थिए। तर जेनजी पुस्ताका युवाहरूले उनको उपस्थिति अस्वीकार गर्दै प्रसाईंलाई नआउन आग्रह गरेका छन्। प्रसाईंले अन्ततः फोनमार्फत आफू कार्यक्रममा सहभागी नहुने बताए।

जेनजी पुस्ताको यो प्रदर्शन सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध केन्द्रित रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0