शिवसताक्षी । जेनजी आन्दोलनले झापाका धेरै स्थानमा सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गराए पनि शिवसताक्षी नगरपालिका भने तुलनात्मक रूपमा सुरक्षित रहेको छ । नगर क्षेत्रका सार्वजनिक सम्पत्ति, कार्यालय र भौतिक संरचनामा क्षति हुन पाएन ।
भदौ २४ गते आन्दोलनकारीले शिवसताक्षी नगरपालिका कार्यालय अगाडै प्रदर्शन गरे पनि संयम अपनाए । कार्यालयभित्र राखिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर मात्र बाहिर ल्याई जलाएका थिए ।
नगरपालिकाका ११ वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६,र ७ का कार्यालयमा भने तोडफोड भएको छ । नगरपालिकाले दिएको जानकारीअनुसार ती वडामा राखिएका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, एसी, सीसी क्यामेरा लगायतका उपकरण क्षतिग्रस्त भएका छन् । यस्तै वडाका झ्यालका सिसा ढुंगामुढा गरी फुटाइएको छ । अन्य वडामा भने सामान्य क्षति पुगेको छ ।
त्यस्तै झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुको घरमा पनि आन्दोलनकारीले तोडफोड गरेका थिए।
विशेषतः झिलझिलेस्थित इलाका प्रहरी कार्यालयलाई आन्दोलनकारीले नै सुरक्षा दिए । स्थानीय जेनजी युवाले बाहिरबाट आएका केही समूहलाई रोक्दै प्रहरी चौकीमा क्षति पुर्याउन नदिएको बताइएको छ । उनीहरूले “सार्वजनिक सम्पत्ति हाम्रो हो, यसलाई हामीले नै जोगाउनुपर्छ” भन्दै रातभर आफैं गस्तीसमेत गरेका थिए ।
यसबीच, विर्तामोड, दमक, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, गौरादहलगायतका नगरपालिकामा भने आन्दोलन हिंसात्मक बनेको थियो । नगरपालिकाका कार्यालयदेखि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र विभिन्न दलका नेताहरूका घर तथा पार्टी कार्यालयमा समेत आगजनी हुँदा करोडौंको धनमाल क्षति भएको छ ।
शिवसताक्षीमा स्थानीय युवाहरूको संयमित भूमिका र सक्रियताले ठूलो क्षति हुनबाट नगरलाई जोगाएको भन्दै विभिन्न सरोकारवालाले प्रशंसा गरेका छन् । नगरपालिका कार्यालयको टोलीले आज सबै वडामा क्षति भएका विवरण संकलन गर्न सुरु गरेको छ । शिवसताक्षी नगरपालिका र सवै वडाहरुले आजबाट सेवा दिन सुरु गरेका छन् ।













