झापा । शिवसताक्षी नगरपालिका वडा नं. –१ का युवा खेलाडीलाई दशैंको अवसर पारेर खेलकुद सामग्री वितरण गरिएको छ। मंगलबार धरमपुर बजारमा नेकपा माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष दुर्गा नेम्वाङ्गले विभिन्न टोलका खेलाडी युवाहरुलाई खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन्।
अध्यक्ष नेम्वाङ्गले स्थानीय युवाहरुलाई कुलत र नशालु पदार्थ जस्ता विकृतिबाट टाढा राखी खेलकुद र सिर्जनात्मक क्षेत्रमा सक्रिय बनाउन वितरण गरिएको बताएका छन्। उनले भने, “युवाहरु राष्ट्रका मेरुदण्ड हुन्, उनीहरुलाई सकारात्मक बाटोमा अघि बढाउन खेलकुद सबैभन्दा राम्रो साधन हो।”
उनका अनुसार वडा नं. १ भित्रका सबै टोलका खेलाडीलाई बल वितरण गरिएको हो। यसले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै सामुदायिक एकता र खेलभावनालाई अझ मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।
सामग्री वितरण कार्यक्रममा स्थानीय टोल विकास समिति, विभिन्न खेलकुद संघसंस्था र अभिभावकहरुको समेत उपस्थिति थियो। कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले खेलकुदले समाजलाई अनुशासित, स्वस्थ र आपसी सद्भावयुक्त बनाउन सहयोग गर्ने भन्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्नेमा जोड दिएका थिए।












