शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति आएको कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् ।

नगरपालिकाको विपतव्यवस्थापन शाखाका कार्यक्रम अधिकृत महेश लामिछानेले वडा नं. ४ विश्वडुब्बामा ४ घर, वडा न. ५ भेलामुनीमा ४५ घर, वडा न. ६ शिवगञ्जमा ३१ घर र वडा नं. ७ लालपानीमा १४३ घर बाढील डुबानमा परेको बताउनुभयो ।
नगरपालिका क्षेत्र भित्र डुबान, कटानबाट अनुमानित १ करोड २० लाख माथिको क्षति भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो ।

वडा नं. १० दोमुखामा मात्रै करिब ३१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो । उहाँका अनुसार दोमुखाको पिकनिक स्पोर्टमा नगरले निर्माण गरेको रेलिङ्ग पूर्ण रूपमा बगाएको छ भने कनकाई माईले चिल्ड्रेन पार्क, नवनिर्मित मौलिक घर, स्वीमिङ्ग पुलको क्षेत्रमा लेदोले पुरिएको छ, त्यस क्षेत्रमा नदिले कटानसमेत गरेको छ । त्यस्तै कनकाई मुक्तिघाटमा अनुमानित १५ लाख ६४ हजारको क्षति भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अझै केही स्थानबाट क्षति विवरण आउन बाँकी रहेको छ ।
वडा न. ५ भेलामुनीमा नदी कटान बढ्दो भएकाले तत्काल ढुंगाजाली जडान गरी रोकथाम कार्य गर्नुपर्ने अवस्था रहेको विपतव्यवस्थापन शाखाले जनाएको छ । धरमपुर खानेपानी आयोजनामा पनि ७ लाख ६८ हजार रुपैयाँको क्षति भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख थोप्राले भन्नुभयो, “अहिले जनप्रतिनिधि र कर्मचारीहरू क्षति विवरण संकलन र राहत वितरणमा जुटेका छन् । प्रभावित नागरिकका लागि गाँस, बासको व्यवस्था छिटो गर्न प्रयास भइरहेको छ।”
नगर उपप्रमुख नरमाया कार्की अनुसार, डुबान क्षेत्रका बालबालिकामा चिसोका कारण स्वास्थ्य समस्या देखिन थालेकाले नगरको स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले आज वडा न. ७ लालपानीका १०२ बाढीपीडित परिवारलाई २ लाख ४ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको छ। राहत अन्तर्गत प्रत्येक परिवारलाई २० केजी चामल, २ केजी दाल, २ लिटर खानेतेल र चाउचाउ वितरण गरिएको सभापति गोविन्द काफ्लेले जानकारी दिनुभयो । त्यस्तै रेडक्रसले शिवसताक्षी ६ शिवगञ्जका १६ परिवार समेत राहत वितरण गरेको छ ।
राहतका लागि शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष तथा काफ्ले खाद्य भण्डारका सञ्चालक यामनाथ काफ्लेले ५० हजार, ध्रवतारा आवासीय विद्यालयले ६ हजार, काफ्ले समाज शिवसताक्षी नगर समितिले ४ हजार रुपैयाँ लगायत अन्य व्यक्तिहरुले सहयोग गरेका छन् ।

त्यस्तै, शिवसताक्षी नगरपालिकाले लालपानीका बाढीपीडितका लागि १७० थान म्याट, झुल र महिलाका लागि साडी सेट, वितरण गरेको छ भने, वडा नं. ४, ५ र ६ का पूर्ण रूपमा डुबानमा परेका १ सय परिवारलाई म्याट, तन्ना र झुल वितरण गरेको जनाएको छ ।













