परिवर्तन आत्मसात गर्नुस्, तपाईंहरुबिना चुनाव सम्भव छैन: प्रधानमन्त्री कार्की


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा देश र संबिधान रक्षाको लागि निर्वाचनको अर्को विकल्प नभएको बताएका हुन् ।

पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई निषेध गरेर जान नसकिने प्रष्ट पारेकी छन् । प्रधानमन्त्री कार्कीले दलहरुले पनि परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने बताइन् ।

कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाएकी थिइन् ।

त्यस्तै, बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0