काठमाडौँ । ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकमा समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । आजको सँगै सुपर सिक्समा नेपालले २ अंक जोडेको छ ।

नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूह विजेता बन्यो । यसअघि नै नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ।

ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए। दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।

कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए। तर गुल्सन झाले २० बलमा नटआउट २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए। गुल्सनले १ चौका र २ छक्का प्रहार गरे।

बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो।

टि-ट्वान्टी आई वरीयतामा नेपाल १८ औं कुवेत २३ औं र जापान ४३औं स्थानमा छ। नेपाल र जापानबीच सिनियर टोलीबीच पहिलो पटक टि ट्वान्टी आईमा प्रतिष्पर्धा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0