झापा । तराई–मधेशसहित देशभर आजदेखि सूर्य आराधनाको महान् पर्व छठ सुरु भएको छ । चारदिनसम्म चल्ने यस पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट शुभारम्भ गरिएको छ । आज झापाको कनकाई, विरिङ्ग, रतुवा, अदुवा, मेची नदिमा विशेष पुजा अर्चना सहित छठ पुजा सुरु गरिएको छ ।

बिहानै व्रतालुहरू नदी, पोखरी र जलाशयमा स्नान गरी शुद्ध मनले अन्नरूप भोजन ग्रहण गर्छन् । अन्न र अर्बाइन पकवानलाई पवित्रता र संयमको प्रतीकका रूपमा लिइन्छ ।

भोलि आइतबार दोस्रो दिन ‘खरना’ मनाइने छ । साँझपख व्रतालुहरूले दूध, चामल र सक्खर मिसाएर तयार पारिएको खीर सूर्यदेवलाई अर्पण गर्छन् । त्यसपछि प्रसाद ग्रहण गरी निराहार व्रत सुरु गर्ने परम्परा छ ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन मानिन्छ, जसमा ‘सन्ध्या अर्घ्य’ दिइन्छ । अस्ताउँदो सूर्यलाई जलाशय किनारमा पूजा सामग्रीसहित अर्घ्य अर्पण गरिन्छ । चौथो दिन मंगलबार बिहान ‘उषाकालीन अर्घ्य’ दिएपछि पर्वको समापन हुन्छ ।

छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार, हात्ती आदि सामग्रीका साथै ठकुवा, भुसुवा, उखु, केरा, मिठाई, अदुवा, हल्दी र विभिन्न फलफूल अर्पण गरिन्छ ।

४८ घण्टासम्म अन्न र पानी त्यागी बस्ने व्रतालुको निष्ठा र अनुशासनका कारण यो पर्वलाई कठोर साधना र आस्थाको प्रतिक मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर सामाजिक एकता, सद्भाव र श्रद्धाको सन्देश फैलाउने यस पर्वले सामुदायिक उत्साह झनै बढाउँछ ।

यसैबीच, छठ नजिकिँदै गर्दा तराई–मधेशका बजारहरूमा पूजा सामग्री किनमेलको चहलपहल छ । जनकपुरधामका ऐतिहासिक जलाशयहरू — गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ ताल — रंगीन बत्ती र सजावटले नवदुलहीझैँ झिलिमिली बनेका छन् । भक्तजनका भीडले जनकपुर अहिले पूर्णतः छठमय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0