झापा — गत आइतबारदेखि वेपत्ता बनेका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल वस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ।
शर्मा आइतबारदेखि गाडी सहित वेपत्ता बनेका थिए। उनी सवार वाग्मती प्रदेशको ०१–०३०च ७१९४ नम्बरको गाडी शुक्रबार मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो। गाडी भेटिए पनि शर्माको अवस्था अज्ञात रहेकोमा शनिबार झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत विरिङ खोलाको पुलमुनी उनको शव गाडिएको अवस्थामा फेला परेको हो।
शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा शिवसताक्षी–१० का सुनिल शाहलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, शर्माका दुई साथीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। दुवै जना मृतकका छिमेकी तथा मिल्ने साथी भएको बताइएका छन्। एकजनालाई मोरङको जोगबनी नजिकै नेपाल–भारत सीमाबाट र अर्को जनालाई माईधारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ। यता, हत्या आरोपितको घरमा आक्रोशित स्थानीय र पीडित परिवारका सदस्यहरूले तोडफोड गरेका छन्। स्थानीयहरूले घरमा आगजनीको प्रयास समेत गरेको बताइएको छ।













