शिवसताक्षी । माता नवदुर्गा कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ ले आफ्नो १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।
कार्यक्रममा सहकारीका अध्यक्ष मच्छिन्द्रकुमार सम्बाहाम्फेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा सुपरिवेक्षण समिति सदस्य दिनेशकुमार लामिछानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सभामा उत्कृष्ट सदस्यहरूलाई सम्मान र पुरस्कारसमेत प्रदान गरिएको थियो। ज्येष्ठ शेयर सदस्य कृष्णबहादुर बरुवाललाई ज्येष्ठ सम्मान दिइयो। त्यसैगरी, उत्कृष्ट कारोबारी तथा मासिक बचतकर्ता प्रल्हाद दर्जी, दैनिक बचतकर्ता प्रेमप्रसाद ताजपुरिया र गंगा सुवेदी, खुत्रुके बचतकर्ता सोनिका बुढाथोकी र रिक्चन तामाङ, असल ऋणी अञ्जु राई र यमुनादेवी बस्नेत, साथै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी छायादेवी कटुवाललाई नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
सहकारीको वार्षिक प्रतिवेदन अनुसार, संस्थामा हाल ६५९ शेयर सदस्य रहेका छन्, जसमा ३३२ महिला र ३२७ पुरुष छन्। संस्थाको कुल वासलात ९ करोड ७६ लाख ५८ हजार ४ रुपैयाँ २६ पैसा रहेको र चालु आवमा ७ लाख ५५ हजार ७६२ रुपैयाँ ७४ पैसा खुद नाफा भएको उल्लेख छ।
कार्यक्रममा साना किसान कृषि सहकारीकी उपाध्यक्ष हरिकुमारी खनाल, शुभमंगल महिला सहकारीकी व्यवस्थापक धनमाया बाँस्कोटा, मङ्गलबारे बजार व्यवस्थापन समिति उपाध्यक्ष हरि बोहोरा, र सतासीदर्शन बहुउद्देश्यीय सहकारीका व्यवस्थापक दिलिप घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले सहकारीका माध्यमबाट कृषकहरूले स्थानीय स्तरमा ठुलो लाभ लिइरहेको उल्लेख गर्दै संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा डिल्लीराम न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने व्यवस्थापक यामकुमार गौतमले सञ्चालन गर्नुभएको थियो।
यसैबीच संस्थाले आगामी ४ वर्षका लागि नयाँ पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरेको छ ।
संस्थाको अध्यक्षमा मच्छिन्द्रकुमार सम्बाहाम्फे सर्वसम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ । त्यस्तै उपाध्यक्षमा केदार निङलेकु, सदस्यहरुमा डिल्लीराम न्यौपाने, हेमप्रसाद सुबेदी, दिपक बुढाथोकी, कुमारी तामाङ र अनिता विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।













