शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा गत वर्ष घटेको चर्चित ‘अमला काण्ड’ मा आरोपित ८० वर्षीय कपिलमणी संग्रौला अदालतबाट निर्दोष ठहरिएका छन्। करिब डेढ वर्षदेखि अदालतमा विचाराधीन रहको उक्त मुद्दामा झापा जिल्ला अदालतले बुधबार संग्रौलालाई सफाइ दिएको हो। आज संग्रौला परिवारले जिल्ला अदालत झापा गरेको फैसला सार्वजनिक गरेको हो ।

साही स्थानकी १९ वर्षीया किशोरीले सन्तान जन्माएपछि संग्रौलामाथि अनैतिक सम्बन्ध र जबरजस्ती करणीको आरोप लगाइएको थियो। उक्त घटना सार्वजनिक भएपछि ‘अमला काण्ड’ सामाजिक सञ्जालदेखि युट्युबसम्म व्यापक रूपमा चर्चित बनेको थियो।

इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दर्ता भएपछि २०८१ फागुन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतका न्यायाधीश पारसमणी पोखरेलको इजलासले वादी पक्षका आरोप प्रमाणित नहुँदा प्रतिवादी संग्रौलालाई सफाइ दिएको उल्लेख गरेको छ।

अदालतको बकपत्रअनुसार जबरजस्ती करणी भएको भन्ने दाबीका प्रमाण—शारीरिक परीक्षण, डिएनए रिपोर्ट, बयान र प्रत्यक्षदर्शीका गवाहीबाट पुष्टि हुन नसकेको उल्लेख छ। साथै प्रतिवादीमाथि बदला लिने वा फसाउने मनसाय देखिएको टिप्पणी पनि बकपत्रमा गरिएको छ।

घटनाले संग्रौला परिवारलाई सामाजिक, मानसिक र आर्थिक रूपमा ठूलो क्षति पुर्‍याएको कपिलमणीका छोरा ओम संग्रौलाले बताए। अदालतको फैसलापछि उनले भने, “समाजले हाम्रो बुबालाई अपराधी ठान्यो, तर आज अदालतले न्याय दियो।”  उनका अनुसार घटनापछि परिवारका सदस्यहरू मानसिक तनावमा परेका थिए। “अमला काण्ड मचाउनेको घर भन्दै हामी समाजमा मुख देखाएर हिँड्न नसक्ने अवस्थामा पुगेका थियौं,” उनले भने, “अब अदालतले न्याय दियो, तर समाजले पनि हाम्रो बुबालाई निर्दोष मानेर न्याय दिनुपर्छ।”

८० वर्षको उमेरमा लागेको आरोपका कारण कपिलमणी संग्रौला गम्भीर मानसिक तनावमा परेका थिए। सामाजिक सञ्जाल र युट्युबमा गरिएको हल्ला र प्रचारप्रसारका कारण उनी आत्महत्यासम्मको अवस्थामा पुगेका थिए।
“म समाजमा बस्नै नसक्ने अवस्थामा पुगेँ,” कपिलमणीले सम्झिए, “मर्न भनेर कोशी नदीको किनारसम्म पुगेँ, तर अन्ततः फर्केँ।” उनले अहिले पनि माक्स लगाएर बाहिर निस्किनुपर्ने बाध्यता रहेको बताए। अदालतको निर्णयपछि उनले भने, “अब बल्ल न्याय पाएको महसुस गरेको छु।”

तर, संग्रौला परिवारले सो घटनामा सन्तान जन्माएकी ती किशोरी र जन्मेकी बालिकाले अझै न्याय नपाएको बताएको छ। कपिलमणीका भाइ युवराज संग्रौलाले भने, “हाम्रो दाजु निर्दोष सावित हुनुभयो, तर ती किशोरी र उनको बच्चीलाई न्याय दिने को हो? ती महिलालाई यस्तो अवस्थामा पुर्‍याउने वास्तविक अपराधीको खोजी गरी कारबाही गर्नुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1