शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित श्री बालनिकुञ्ज माध्यमिक विद्यालयले आ.व. २०८१/८२ को सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा तथा वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक हर्कबहादुर सिगुको प्रमुख आतिथ्यमा आयोजित अभिभावक भेलामा प्रतिवेदन सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रधानाध्यापक भुवानीप्रसाद थापाले विद्यालयमा संकलन तथा खर्चसहित ३ करोड ३ लाख ३८ हजार ८ सय ८५ रूपैयाँ बराबरको आर्थिक गतिविधि भएको सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोही अवसरमा विद्यालयमा मातृभाषाअन्तर्गत सञ्चालन भइरहेको लिम्बू भाषाका कक्षा २ र ३ का पाठ्यपुस्तक अभिभावक–शिक्षक संघका अध्यक्ष लक्ष्मी योङहाङले संकलन गरी विद्यालयलाई हस्तान्तरण गरे।
यस्तै, शुभ दीपावलीको अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले संस्कृतिको संरक्षण एवं संवर्द्धनका लागि खेलेको देउसी–भैलोबाट संकलित रु. २२,५७५ रकम आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई विद्यालय पोशाक, टाई–बेल्ट, जुत्ता–मोजा, झोला तथा कापी लगायत शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द नेपालले गरेका थिए।












