शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत वडा नं. ७, लालपानीस्थित श्री लालपानी माध्यमिक विद्यालयको भवनमा एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम विद्यार्थीका अभिभावक, स्थानीय समुदाय, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूलाई लक्षित गरिएको थियो।
कार्यक्रमको उद्देश्य विदेश जान इच्छुक व्यक्तिहरूलाई सुरक्षित, व्यवस्थित र मर्यादित तरिकाले वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने तथा स्वदेशमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रोत्साहन गर्ने रहेको परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिए।
उनका अनुसार, अभिमुखीकरणमा विदेश प्रस्थान गर्नु अघि अपनाउनुपर्ने सतर्कता, विदेशमा रहँदा ध्यान दिनुपर्ने सुरक्षा बिन्दुहरू, सीप सिकेर दक्ष जनशक्ति बन्दै सबै कानूनी प्रक्रिया पुरा गरेर मात्र रोजगारीका लागि अघि बढ्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा १०० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रम परियोजना सल्लाहकार समिति सदस्य काजी पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो भने, विद्यालयका प्रधानाध्यापक बालकृष्ण प्रसाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम सेन्दाङ लगायतको सहभागिता थियो।
कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिका रोजगार शाखाका समन्वयक बिदुर तिम्सिनाले गरेका थिए।













