बिर्तामोड । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबारदेखि आफ्नै नवनिर्मित भव्य कार्यालय भवनबाट औपचारिक रूपमा सेवा प्रदान गर्न थालेको छ।
१८ वर्षदेखि भाडाको घरमा सीमित सुविधासहित सेवा सञ्चालन गर्दै आएका संस्थाले निरन्तर नाफा र सदस्यको विश्वासलाई आधार बनाउँदै जग्गा किनेको र आधुनिक संरचना निर्माण गरी विस्तारको नयाँ चरणमा प्रवेश गरेको हो।
संस्थाका ज्येष्ठ सेयर सदस्य तथा संस्थापकद्वय रुपमाया गुरुङ र चक्रप्रसाद खरेलले रिबन काटी र दीप प्रज्वलन गर्दै भवन उद्घाटन गर्नुभएको थियो। २०६४ कात्तिक २७ गते दर्ता भएको संस्थाले स्थापना कालदेखि हालसम्म भाडामै आर्थिक सेवा प्रवाह गर्दै आएको थियो।
अध्यक्ष यामकुमार चुडालका अनुसार संस्थाले २०७३ सालमा करिब ९८ लाख रुपैयाँमा सवा १३ धुर जग्गा खरिद गरेको थियो। सोही जग्गामा २०८१ मंसिरको पहिलो सातामा १६५० वर्गफुटको ट्रस्टसहित चारतले आधुनिक भवनको शिलान्यास गरिएको थियो। करिब १ करोड ३० लाख रुपैयाँ लागतमा भवन सम्पन्न गरी आज वास्तुपूजासहित नयाँ कार्यालयबाट सेवा सुरू गरिएको उहाँले जानकारी दिनुभयो।
पुरानो साँघुरो भाडाको घरबाट सेवा दिन कठिनाइ हुने भएकाले नयाँ फराकिलो र सुगम भवनले अब सदस्यलाई छिटो, सरल र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास अध्यक्ष चुडालले व्यक्त गर्नुभयो।
भवन उद्घाटन समारोहमा संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रममार्फत संस्थापक सदस्यद्वय रुपमाया गुरुङ र चक्रप्रसाद खरेललाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो।
गत २०८२ असार मसान्तसम्म २२९९ सदस्यसहित ४३ करोड ६७ लाख ७ हजार रुपैयाँको वासलात रहेको सञ्जिवनी साकोसले ३ करोड ८६ लाख ६३ हजार शेयर पुँजी, ३३ करोड ६ लाख ४६ हजार निक्षेप बचत तथा ४ करोड ७ लाख १५ हजार जगेडा कोषसहित कारोबार गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। संस्थाका व्यवस्थापक श्यामकुमार गुरुङका अनुसार पछिल्ला पाँच महिनामा यी सबै वित्तीय सूचकाङ्कमा निरन्तर वृद्धि भएको छ।













