शिवसताक्षी । झापा शिवसताक्षी १० मा रहेको श्री बालनिकुञ्ज माध्यमिक विद्यालयले आफ्नो ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न विधामा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गर्दै सम्पन्न गरेको छ ।

विद्यालयले विद्यालयको शैक्षिक सुधार तथा भौतिक निर्माणका लागि सहयोग गर्ने दाता, अभिभावक र विद्यार्थी गरी ६४ जनालाई सम्मान गरेको हो ।

जसमा शैक्षिक वर्ष २०८१ को नतिजा अनुसार प्रत्येक कक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने ३४ जना विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्रद्वारा प्रदान गरिएको थियो भने, वर्षभरीमा कक्षागत रुपमा सर्वाधिक हाजिरी कायम गर्ने १७ जना विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी विद्यालयलाई यस आर्थिक वर्षमा आर्थिक, भौतिक निर्माणमा सहयोग पुर्याउने तथा अक्षयकोष निर्माण गर्ने ९ जना दाताहरुलाई समेत विद्यालयले सम्मान गरेको छ ।

उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई, वडा सदस्यहरु दिपक पोख्रेल, कोपिला मैनाली, प्रधानाध्यापक भुवानीप्रसाद थापा लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

विद्यालयमा स्थापना गरिएको बलहाङ्ग फिपरानी स्मृति अक्षयकोषबाट एक छात्र र छात्रालाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै स्व. चन्द्रमणि भट्टराई स्मृति छात्रवृत्ति अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरु एक छात्र र एक छात्रलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका शिक्षक नारायण भट्टराई जानकारी दिए ।

बलहाङ्ग फिपरानी स्मृति अक्षयकोषका संरक्षक मेदनी प्रसाद योङहाङ्ग र स्व. चन्द्रमणि भट्टराई स्मृति छात्रवृत्ति अक्षयकोषका संरक्षक तेजप्रसाद र रोहिता भट्टराईले उक्त छात्रवृत्ति प्रदान गरेका थिए ।

विद्यालयले वार्षिकोत्सवकै अवसरमा पूर्व विद्यालय व्यवस्थापन समिति सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयले वर्ष शिक्षकका रुपमा शिक्षकद्वय फणीन्द्र घिमिरे र मीना कार्कीलाई नगद पुरस्कार सहित सम्मान गरिएको बालनिकुञ्ज माध्यमिक विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रधानाध्यापक भुवानीप्रसाद थापाले विद्यालयको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका बिचमा विद्यालय पूर्व शिक्षक लेखनाथ भट्टराईले रु १० हजार विद्यालयका लागि आर्थिक सहयोग प्रदान गरेका थिए ।
विद्यालयले वार्षिकत्सवको रुपमा पौष १ गतेदेखि विभिन्न खलकुद तथा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरी आज पूर्ण रुपमा समापन गरेको हो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द नेपालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0