इटहरी । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँचतला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकै रहेको भवनको पाँचौँ तलाबाट हामफाल्दा गम्भीर घाइते भएका इन्टर्न डाक्टरलाई उपचारका लागि नोबेलकै इमर्जेन्सी कक्षमा ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रारम्भिक चरणमा मृतकको पहिचान खुल्न नसके पनि थप अनुसन्धानबाट मृतक सप्तरी जिल्लाको राजविराज नगरपालिका–९ जगदरी निवासी ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादव नोबेल मेडिकल कलेजमा १०औँ ब्याचका एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए। उनका पिता शम्भु प्रसाद यादवका अनुसार मृतक लामो समयदेखि मनोरोगसम्बन्धी समस्याबाट पीडित थिए र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












