कनकाई। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले डण्डिबियो र कबर्डी जस्ता परम्परागत खेलका माध्यमबाट नेपाल एक समय विश्वसामु चिनिएको स्मरण गराउँदै तिनै खेलको विकसित रूपका रूपमा अहिले क्रिकेट खेल स्थापित भएको बताउनुभएको छ।
झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित देवकोटा प्राथमिक विद्यालयको खेल मैदानमा आजदेखि सुरु भएको प्रथम वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख पोखरेलले पहिले फुटबलमा बढी केन्द्रित भए पनि पछिल्लो समय क्रिकेटले व्यापक महत्व पाएको बताउनुभयो। उहाँले छोटो समयमै कम लगानीमा राम्रो प्रतिफल दिन सक्ने खेलका रूपमा क्रिकेट स्थापित हुँदै गएको उल्लेख गर्नुभयो।
क्रिकेटकै कारण आज सम्पूर्ण नेपालीको शिर गर्वले ठाडो भएको भन्दै नगरप्रमुख पोखरेलले नेपाली खेलाडीहरूले विश्वमञ्चमा देशको पहिचान बनाइसकेको बताउनुभयो। कनकाई नगरपालिका क्षेत्रबाट समेत राष्ट्रियस्तरका खेलाडी उत्पादन भइसकेको उल्लेख गर्दै उहाँले खेलाडीहरूलाई जित मात्र नभई आफूले कति राम्रो खेल प्रदर्शन गर्न सक्छु भन्ने लक्ष्यका साथ मेहनत गर्न सुझाव दिनुभयो। आगामी दिनमा कनकाई नगरपालिकाले क्रिकेट खेलको विकासमा अझ बढी प्राथमिकता दिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

प्रतियोगिताको औपचारिक सुरुवात कनकाई–५ का वडाध्यक्ष कृष्णबहादुर राईले बलिङ र नगरप्रमुख पोखरेलले ब्याटिङ गरेर गर्नुभएको थियो।
न्यु रेलिमाई युवा क्लबको आयोजनामा तथा गर्ग फाउण्डेशन नेपालको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटै वडाबाट एक–एक टिम र वडा नम्बर ५ बाट दुई टिम गरी जम्मा १० टिम सहभागी छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने न्यु रेलिमाई युवा क्लबका अध्यक्ष भूपालमानसिंह कार्कीले कनकाई अनलाइनलाई जानकारी दिनुभयो।
आज सम्पन्न खेलहरूमा वडा नम्बर १ र वडा नम्बर २ का टिमहरू विजयी भएका छन्। वडा नम्बर १ ले वडा नम्बर ६ लाई तथा वडा नम्बर २ ले वडा नम्बर ५ को ‘बी’ टिमलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्।












