काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच आज करिब अढाई घण्टा लामो वार्ता भएको छ । तर वार्तापछि दुवै पक्षबाट ठोस निष्कर्ष सार्वजनिक गरिएको छैन ।

यसअघि उनीहरूबीच मंगलबार राति करिब ६ घण्टा लामो छलफल भएको थियो । उक्त भेटपछि एउटै गाडीमा बाहिरिएको तस्बिरले राजनीतिक वृत्तमा ठूलो चर्चा ल्याएको थियो । तर त्यसयता पनि सहकार्यबारे स्पष्ट सहमति जुट्न सकेको छैन ।

स्रोतका अनुसार आजको वार्तामा पनि सहकार्य, नेतृत्व र भावी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा अड्चन देखिएको छ । बालेन र रवि दुवै चुनावपछि प्रधानमन्त्री बन्ने आकांक्षामा रहेकाले सहमति कठिन बनेको बताइन्छ ।

बालेनले रास्वपासँग कुरा नमिले वैकल्पिक शक्ति निर्माणलाई ‘प्लान बी’का रूपमा अघि बढाएका छन् भने रास्वपा पनि बालेन अलग्गै चुनावमा गए सबैभन्दा बढी क्षति आफूलाई हुने आशंकामा छ ।

हाल दुवै नेता संवादमा रहे पनि एक–अर्कालाई जाँच्ने र दबाब सिर्जना गर्ने रणनीतिमा देखिएका छन् । वार्ता जारी रहने बताइए पनि सहकार्यको भविष्य अझै अनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0