शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजनामा विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर–विद्यालय हाजिरीजवाफ, निबन्ध लेखन र हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।
हाजिरीजवाफ प्रतियोगिता (कक्षा ९–१२) तर्फ भानु माध्यमिक विद्यालय, लालझोडाले प्रथम स्थान हासिल गरेको छ। ध्रुवतारा आवासीय अंग्रेजी माध्यमिक विद्यालयले द्वितीय र भानु माध्यमिक विद्यालय, पाराबारीले तृतीय स्थान प्राप्त गरेका छन्।
निबन्ध लेखन प्रतियोगिता (कक्षा ६–८) तर्फ भगवती माध्यमिक विद्यालय प्रथम, सूर्योदय आधारभूत विद्यालय द्वितीय र बालनिकुञ्ज माध्यमिक विद्यालय तृतीय भएका छन्।

त्यस्तै, हस्तलेखन प्रतियोगिता (कक्षा १–५) तर्फ धरमपुर प्रज्ञा पाठशालाले प्रथम, ध्रुवतारा आवासीय अंग्रेजी माध्यमिक विद्यालय द्वितीय र राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ ।
हाजिरीजवाफ तर्फ १४ विद्यालय, निबन्ध लेखन तर्फ २३ विद्यालय र हस्तलेखन तर्फ २७ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा सफल विद्यार्थीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने विजयी विद्यालयलाई ट्रफी प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाले विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने, समान्य ज्ञान विद्यार्थीहरुको चौतफी विकासका लागि अतिरिक्त क्रियाकलाप गराएको जानकारी दिनुभयो । विद्यार्थी पाठ्यपुस्तक भित्रमा रहेर होइन, विश्व मानचित्रमा लगायत विविध विषयमा जानकारी लिन जरुरी छ । उहाँले भन्नु भयो समयको परिवर्तन र प्रविधिले हामीलाई विश्वका सबै भुगलसँग नजिक बनाएको छ । विद्यार्थी भाइबहिनीहरुले प्रविधिको प्रयोगसँगै सबै क्षेत्रको ज्ञान लिन जरुरी भएको उहाँले बताउनु भयो ।
कार्यक्रमको सभाध्यक्षता शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक कमल भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा नगर प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङ र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बेनुप्रसाद कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शिक्षा शाखाका अधिकृत मिलन विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो।
नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको जनाएको छ।












