काठमाडौँ । मोरङको बेलबारी निवासी स्रष्टा तिला लेकालीको गजलसङ्ग्रह ‘आगोको रङ’ सार्वजनिक गरिएको छ। प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा उक्त कृतिको औपचारिक विमोचन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रलेसका सल्लाहकार तथा पूर्व शिक्षा मन्त्री रघुजी पन्त रहनुभएको थियो। कार्यक्रममा जगत उपाध्याय प्रेक्षित, प्रा.डा. जिवेन्द्रदेव गिरी, मातृका पोखरेल, प्रा.डा. देवी नेपाल, शान्ता मानवी, नर्वेदेश्वरी सत्याल र डा. बमबहादुर थापा जितालीलगायत साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कृतिमाथि साहित्यकार हरि सिलवालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम प्रलेसका अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव झपिन्द्र ढकाल (पारस)ले गर्नुभएको थियो।
वि.सं. २०५९ सालमा ‘मलाई मनपर्छ’ शीर्षकको कविता जनउन्मुख पत्रिकामा प्रकाशित गर्दै साहित्यिक यात्रामा प्रवेश गरेकी तिला लेकाली कविता, गजल, हाइकु, मुक्तक, गीत तथा बालसाहित्य विधामा सक्रिय रहँदै आएकी छन्। यसअघि उनका पर्खालभित्र (हाइकु, २०६५), चक्रव्यूहमा उभिएर (गजल, २०७०), झ्याउँकिरी झङ्कृत (हाइकु, २०७४), रानी मौरी (बाल गजल, २०७६), साझा आकाश (कविता, २०७८) र खुर्पे जून (कविता, २०८०) कृति प्रकाशित भइसकेका छन्।
नवीन गजलसङ्ग्रह ‘आगोको रङ’ लेकालीको सातौँ प्रकाशित कृति हो।












