बिर्तामोड । बिर्तामोडमा आज सम्पन्न स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर २ स्थित निदि माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य मेडल जित्दै शीर्ष स्थान ओगटेको हो। द्वितीय स्थानमा वडा नम्बर १० स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय रहँदा, तृतीय स्थानमा वडा नम्बर ३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय पुगेको छ। महेन्द्रज्योति माविले ७ स्वर्ण, ५ रजत र ४ कास्य, र महेन्द्ररत्न माविले ६ स्वर्ण, ९ रजत र ७ कास्य मेडल जितेका थिए।

विजेताहरूले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरे। यस वर्षदेखि बिर्तामोड नगरपालिकाले विजेताका लागि रनिङ शिल्डको विशेष व्यवस्था गरेको थियो।

पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, र शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले उपस्थित रहेर विजेतालाई सम्मानित गरे।

प्रतियोगिता पुस १३ गतेबाट वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कूलको मैदानमा सुरु भएको थियो। बिर्तामोड नगरपालिकाभित्रका ३९ विद्यालयका २ हजारभन्दा बढी विद्यार्थीले कराते, उस्सु, तेक्वान्दो, एथलेटिक्स, भलिबल र कवड्डी विधामा प्रतिस्पर्धा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0