शिवसताक्षी । शिवसताक्षी नगरपालिकाद्वारा सञ्चालित मन्टेश्वरी तालिम सफलतापूर्वक आज सम्पन्न भएको छ। नगरपालिकाको शिक्षा शाखाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत पूर्व–प्राथमिक तहका शिक्षकहरूका लागि यही १५ गतेबाट सञ्चालन गरिएको तालिमको आज सम्पन्न् गरिएको हो ।
तालिममा नगरभित्रका सामुदायिक विद्यालयका ३५ जना र संस्थागत विद्यालयका ८२ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा बालमैत्री शिक्षण विधि, मन्टेश्वरी शिक्षाको दर्शन, व्यवहारिक कक्षा सञ्चालन, सिकाइ सामग्रीको प्रयोग, बालबालिकाको मनोविज्ञान र समग्र व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिइएको शिक्षा शाखा प्रमुख छवि ढकालले बताउनु भयो ।
कार्यक्रमको समापन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख श्री मेगाहाङ थोप्राले गर्नुभएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले पूर्व–प्राथमिक शिक्षा बालबालिकाको जीवनको आधार भएको उल्लेख गर्दै यस तहमा गुणस्तरीय र व्यवहारिक शिक्षा दिन शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। नगरपालिकाले आगामी दिनमा पनि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बालविकास सञ्जालकी नगर अध्यक्ष कमला बस्नेत, नेपाल शिक्षक महासङ्घका अध्यक्ष बेनु प्रसाद कार्की तथा नगर कार्यपालिका सदस्य गोमा रिजालले शुभकामना मन्तव्य राख्दै तालिमले बालशिक्षाको गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। तालिमको सहजीकरण पुजा दाहाल र कमला आचार्यले तालिमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी मिलन विष्टले गर्नु भएको थियो ।












