काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ । त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान लिएको थियो ।
यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो । आयोगले लेखकको भ्रमण र स्थानहद फुकुवा गरेको निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा जानकारी गराएको छ ।
आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो ।
गत असोज १२ गते आयोगको उक्त निर्णयमा उनीहरूलाई स्वीकृतिबेगर उपत्यकासमेत छाड्न नपाउने पनि भनिएको थियो । यसअघि पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा भइसकेको छ ।
२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।












