झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ। यसक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस गरिएको छ।

आज सम्पन्न एमाले क्षेत्र नं. ५ को क्षेत्रीय समन्वय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। दमक–४ स्थित एमाले दमक नगर कमिटीको कार्यालयमा सम्पन्न बैठक क्षेत्रीय इन्चार्ज नारायणप्रसाद गौतमको अध्यक्षतामा बसेको थियो। झापा–५ अध्यक्ष ओलीको गृहक्षेत्र हो, जहाँबाट उनी २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका छन्।

यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट आठ जनाको नाम सिफारिस गरिएको छ। मेचीनगर–६ स्थित एमाले मेचीनगर नगर कमिटीको कार्यालयमा क्षेत्रीय इन्चार्ज कृष्ण खनालको अध्यक्षतामा बसेको बैठकले राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईको नाम सिफारिस गरेको हो।

झापा क्षेत्र नम्बर २ बाट भने १३ जना उम्मेद्वारका लागि आकाक्षी देखिएका छन् । जसमा देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छबिलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली, पर्वत भण्डारी, एकराज कार्की तथा महिलातर्फ रोजिना पाण्डे, जसमाया गजमेर र पवित्रा पाठक रहेका छन्। क्षेत्र नं. २ ले भने भोली मात्रै सिफारिस गर्ने जनाएको छ ।

त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम सिफारिस गरिएको छ। आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा दिपक कार्की, हरिबहादुर राजवंशी, बसन्त बानिया, सन्तलाल मेचे र देबेन्द्र आचार्यको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए।

यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

नेकपा एमालेले आन्तरिक छलफल र संगठनात्मक प्रक्रिया अनुसार उम्मेदवार छनोटलाई अन्तिम रूप दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0