अर्जुनधारा । झापाको अर्जुनधारास्थित विरिङ खोलामा नयाँ पुल निर्माण हुने भएको छ। शनिश्चरे–खुदुनाबारी सडकखण्डमा रहेको क्षतिग्रस्त पुल पुनःनिर्माणका लागि संघीय सरकारले ३५ करोड रुपैयाँ बजेट स्वीकृत गरेको हो।
पछिल्ला दुई वर्षयता पटक–पटक आएको बाढीले क्षतिग्रस्त बनेको अर्जुनधारा–७ स्थित विरिङ पुल लामो प्रतीक्षा र नेतृत्वको अथक पहलपछि निर्माण हुने निश्चित भएको सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुंगेलले जानकारी दिनुभयो।
ढुंगेलका अनुसार गत वर्ष असोज १२ गते आएको विपद् व्यवस्थापन शीर्षकअन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन गरिएको हो। स्वीकृत डिपिआरअनुसार विरिङ खोलामा निर्माण हुने पुल दुई लेनको हुनेछ भने यसको लम्बाइ १८० मिटर रहनेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउने तयारी गरेको ढुंगेलले जानकारी दिनुभएको छ।
पुल पुनःनिर्माणका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सुरुदेखि नै चासो राख्दै निरन्तर पहल गर्दै आउनुभएको थियो। यस्तै, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले पनि पुल निर्माणलाई उच्च प्राथमिकतामा राख्दै सक्रिय भूमिका निर्वाह गर्नुभएको जनाइएको छ।
बाढीका कारण पुल क्षतिग्रस्त भई आवतजावत बन्द हुँदा सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका थिए भने जनप्रतिनिधिहरू आलोचनाको घेरामा पर्दै आएका थिए।
पुल निर्माण सम्पन्न भएपछि झापाको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी हुँदै इलामको दक्षिणी भेगसँगको सडक सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।












