काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र महाधिवेशनको समयतालिकालाई लिएर विवाद चुलिँदै गएपछि पार्टीभित्रकै एक पक्षले विशेष महाधिवेशन आह्वान गरेको छ । सञ्चार तथा प्रचार प्रसार समिति मार्फत काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरिएको हो ।

विशेष महाधिवेशन पक्षधरले पार्टीले २०८२ पौष २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने पूर्वघोषित कार्यतालिका कार्यान्वयन हुन नसकेको भन्दै वर्तमान अवस्थालाई ‘संवैधानिक र संगठनात्मक संकट’ को रूपमा व्याख्या गरेका छन् । यस्तो परिस्थितिमा विशेष महाधिवेशन अपरिहार्य विकल्प बनेको दाबी उनीहरूको छ ।

विज्ञप्तिमा पार्टी विधानको मर्म र भावनाअनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको उल्लेख गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ । आयोजक सचिवालयले सुरक्षा व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय गरिसकेको र कार्यक्रम स्थलका रूपमा भृकुटीमण्डप अग्रिम रूपमा बुक भइसकेको जनाएको छ ।

पत्रकार सम्मेलनमा विशेष महाधिवेशन सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन भइसकेको जानकारी पनि दिइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निकट पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले विशेष महाधिवेशन अब विकल्प नभएको निष्कर्ष निकालेको छ ।

तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई प्राथमिकता दिँदै त्यसअघि विशेष महाधिवेशन सम्भव नभएको धारणा राख्दै आएको छ । यसले कांग्रेसभित्रको आन्तरिक मतभेद अझ गहिरिएको संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0