काठमाडौँ । नेपाली काँग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको जनाएको छ।
काँग्रेसले विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि आह्वान गरेको कार्यक्रम विधान विपरीत रहेको बताएको छ। त्यस्ता गतिविधिमा संलग्न नहुन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीका अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र छ । व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई यस्तो अधिकार नभएको स्पष्ट पारेको छ।
‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ। तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली काँग्रेस हार्दिक अपिल गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।












